राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सर परीक्षण शिविर

शिविरमा क्यान्सर अस्पताल भरतपुर र प्रतिष्ठानका विभिन्न विभागमा कार्यरत विशेषज्ञ चिकित्सक तथा कर्मचारीले सेवा दिएका थिए ।

चैत्र १४, २०८२

दुर्गालाल केसी

Cancer screening camp at Rapti Institute of Health Sciences

दाङ — राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले शुक्रबार बृहत् क्यान्सर परामर्श तथा परीक्षण शिविर सञ्चालन गरेको छ । शिविरमा ३ सय बढीले जाँच गराएको प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिष्ट्रार प्रा. श्याम लम्सालले बताए ।

शिविरमा मेडिसिनतर्फ २१ जना, गाइनोतर्फ १ सय ९३ जना र सर्जरीतर्फ ७२ जनाले जाँच गराएको लम्सालले जानकारी दिए । प्रतिष्ठानले क्यान्सरको सेवा सुरु गर्न पहल गरेको र शिविरले क्यान्सरका बिरामी पहिचान र उपचार गर्न सहज हुने उनले बताए ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो । शिविरमा क्यान्सर अस्पताल भरतपुर र प्रतिष्ठानका विभिन्न विभागमा कार्यरत विशेषज्ञ चिकित्सक तथा कर्मचारीले सेवा दिएका थिए ।

क्यान्सर अस्पतालबाट आएका विशेषज्ञ चिकित्सक मेडिकल अन्कोलोजी डा. विवेक कँडेल, ब्रेष्ट सर्जरी डा. अनुप भट्टचन, युरोलोजी डा. बोधराज गौतम, गाइनो अन्कोलोजी डा. अस्मिता ओलीले शिविरमा जाँच गरेका थिए ।

प्रतिष्ठानमा क्यान्सर उपचार सेवाका लागि सहकार्य गर्न क्यान्सर अस्पतालसँग यसअघि भएको सम्झौता अनुरुप शिविर भएको र यसलाई आगामी दिनमा निरन्तरता दिइने निमित्त उपकुलपति लम्सालले बताए । शिविरमा महिलाको पाठेघर, स्तन, योनिलगायतको क्यान्सर परीक्षण गरिएको थियो ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully