पुरानै ‘एक्सन’मा सांसद् थापा

जिल्लाको शान्ति सुरक्षालाई सामान्य बनाएर दैनिकी सहज बनाउन पूर्वएसएसपी एवं सांसद विक्रमसिंह थापाको प्रयास राम्रो रहेको नागरिक अगुवा रासिद मिर्जा बेगले बताए ।

चैत्र १२, २०८२

मनोज पौडेल

MP Thapa in the same 'action'

What you should know

कपिलवस्तु — प्रहरीमा बहाल हुँदा शान्ति सुरक्षा, अपराध र गुण्डागर्दी नियन्त्रण गर्ने भूमिकामा कहलिएका पूर्वएसएसपी बिक्रमसिंह थापा संसदीय यात्रा सुरु गरेलगत्तै पुरानै ‘एक्सन’मा फर्किएका छन् । पहिलेजस्तो प्रहरीको भूमिका नभए पनि जिल्लामा शान्ति सुरक्षा, अमनचैन कायम गराएर समाजमा सद्भाव कायम गर्न उनी लागिपरेका हुन् । 

२७ वर्षे प्रहरी सेवाबाट अवकाश प्राप्त थापा यसपटक रास्वपाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । शपथग्रहणका लागि उनी संघीय राजधानी काठमाडौं गएका बेला चैत ७ गते महाराजगन्ज–२, बर्गदा गाउँमा हिन्दु–मुस्लिम समुदायबीच झडप भयो । मन्दिर–मस्जिद तोडफोड गरिए । महाराजगन्ज नगरपालिकामा निषेधाज्ञा जारी भयो । जिल्ला अशान्त बनेको खबर पाउनासाथ थापा त्यसै दिन राती काठमाडौंबाट फर्किए । मध्यरात सदरमुकाम तौलिहवा आइपुगेका उनी चैत ८ गते बिहान जिल्ला प्रशासनद्वारा आयोजित सर्वपक्षीय समन्वय/सद्भाव बैठकमा सहभागी भए । 

बैठकमा दोषीलाई कारबाही र सामाजिक सद्भाव कायम राख्ने विषयमा अग्रसर भएर थापाले सहमति जुटाए । त्यही दिन मध्याह्न प्रशासनबाहिर नाराबाजी गर्दै टायर बालेर भीड अनियन्त्रित बन्यो । लगत्तै प्रशासनले कपिलवस्तु नगरपालिका र मायादेवी तथा शुद्धोदन गाउँपालिकाका अधिकांश भागमा अर्को आदेश नभएसम्म भेला, सभा र बैठक गर्न नपाउने निषेधाज्ञा जारी गर्‍यो । तनाव बढ्न थालेपछि प्रहरीमा काम गर्दा राजधानी काठामाडौं र ललितपुर लगायतका ठाउँमा कमाण्ड सम्हालेको अनुभवले अग्रसरता लिएर काम गर्न थाले । प्रहरीमा हुँदा भीड नियन्त्रणको मनोविज्ञान राम्ररी बुझेका थापाले व्यक्तिगत, द्विपक्षीय र सामूहिक भेटघाट तीव्र बनाए । 

वादविवाद, झगडाभन्दा शान्ति, सद्भाव र मेलमिलापमा जोड दिँदै कन्भिन्स गरे । सबै आग्रह पूर्वाग्रह छोड्न अनुनय विनय गरे । विषम परिस्थिति आकलन गरेर योजना बनाई काम गर्न अब्बल क्षमताका मानिने उनले शान्ति, सद्भाव, करुणामैत्री भाव कायम गरेर बस्न आग्रह गरे । घटनामा घाइतेका परिवारलाई भेटे । घटना भएको ठाउँ बर्गदा गाउँ पुगेर तोडफोड भएको मन्दिर र मस्जिद अवलोकन गरे । स्थानीयसँग कुराकानी गरे । घटनामा घाइते भई भैरहवास्थित मेडिकल कजेलमा उपचार गराइरहेका घाइते प्रदीपकुमार पासी, राहुल मौर्या र महेन्द्र रैदासलाई भेट अस्पताल नै पुगे ।

घटनामा गम्भीर घाइते भएर चितवन मेडिकल कलेजमा उपचार गराइरहेका महाराजगन्ज–६ का अरुण यादवलाई भेट्न चितवन गए । यादवको अवस्था खतरामुक्त छ । थापाले घाइतेको उपचारमा कमी हुन नदिई व्यवस्थित बनाउन स्थानीय प्रशासन र सरोकारवालाबीच पनि समन्वय गरिदिएका छन् । आफ्ना पूर्वअधिकारी तथा नवनिर्वाचित सांसद थापाले जिल्लामा चैत ७ गते भएको घटनापछि उत्पन्न असहज परिस्थिति सामान्यीकरण गर्न राम्रो सहयोग गरेको जिल्ला प्रहरी प्रमुख उपरिक्षक सन्तोष आचार्यले बताए । ‘शान्ति सुरक्षा कायम गर्ने विषयमा थापाको लामो अनुभव छ,’ उनले भने, ‘त्यसकारण पनि छिट्टै सहज अवस्था बनाउन सहयोग पुग्यो ।’ 

घाइतेलाई भेट्ने क्रममा सांसद थापाले शान्ति व्यवस्था कायम गर्ने क्रममा प्रयोग गरिएको बल आवश्यकताभन्दा बढी भएको देखिनु चिन्ताको विषय भएको बताए । शान्ति कायम राख्ने दायित्वसँगै नागरिकको सुरक्षा, अधिकार र मानवीय संवेदनशीलतालाई पनि उत्तिकै प्राथमिकतामा राख्नु आवश्यक भएको सांसद थापाले बताए । उक्त घटनापछि जिल्लाको शान्ति सुरक्षालाई सामान्य बनाएर दैनिकी सहज बनाउन सांसद थापाको प्रयास राम्रो रहेको नागरिक अगुवा रासिद मिर्जा बेगले बताए ।

अपराध अनुसन्धान, गुण्डागर्दी नियन्त्रण र तराईमा आतंक मच्चाउने भूमिगत समूहलाई निस्तेज पार्ने प्रहरी अधिकृतका रूपमा स्थापित भएर प्रहरीमा सिंघम उपमा पाएका थापा संसदीय यात्रामा प्रवेश गरेका हुन् । जीवनका ऊर्जाशील समय प्रहरी सेवामा बिताएका थापा सेवानिवृत्त भएपछि २०७४ सालदेखि राजनीतिमा प्रवेश गरेका हुन् ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully