प्राविधिक शिक्षामा विपन्न समुदायको पहुँच स्थापित गर्न तुलसीपुर उपमहानगरपालिकाले गौरबको आयोजनाका रुपमा मेट्रो कलेज सञ्चालन गरेको छ ।
दाङ — तुलसीपुरस्थित मेट्रो कलेजमा ब्याचलर इन होटेल एण्ड टुरिज्म म्यानेज्मेन्ट (बिएचटिएम) अध्ययनरत विद्यार्थीहरुले व्यवसायिकरुपमा केक उत्पादन गर्न थालेका छन् ।
कलेजले एक महिने बेकरी उत्पादन तालिम दिएपछि विद्यार्थीहरु केक उत्पादनका लागि उत्साहित भएका हुन्। विद्यार्थीहरुलाई पढ्दै, कमाउँदै योजना अन्तर्गत व्यवसायिक सीप प्रदान गर्ने गरेको कलेज प्रमुख वसन्त आचार्यले बताए ।
कलेजमा अहिले बिभिन्न कार्यक्रममा ८ सय बढी विद्यार्थीले अध्ययन गरिरहेका छन् । युवा उद्यमशीलता र स्वरोजगारमा जोड दिँदै प्राविधिक शिक्षा सञ्चालन गरेको आचार्यले बताए । ‘विद्यार्थीहरु पढ्दै, कमाउँदै गरिरहेका छन् । अध्ययनलाई उद्यमशिलता र रोजगारीसँग जोड्ने काम भएको छ,’ उनले भने,‘विद्यार्थीहरु सीप सिक्दै उद्यममा जोडिँदै गरिरहेका छन् ।’
प्राविधिक शिक्षामा विपन्न समुदायको पहुँच स्थापित गर्न तुलसीपुर उपमहानगरपालिकाले गौरबको आयोजनाका रुपमा मेट्रो कलेज सञ्चालन गरेको छ । विद्यार्थीहरुलाई सुलभ शुल्कमा प्राविधिक शिक्षा प्रदान गर्न पालिकाले प्रदेश र संघ सरकारको सहयोगमा कलेज सञ्चालन गरेको हो ।
नगरको नमूना योजनाका रुपमा २०७६ सालमा कलेज स्थापना भएको हो । कलेजले हाल आठ वटा कार्यक्रम सञ्चालन गरिरहेको छ । कलेजले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को साझेदारीमा विभिन्न तहका प्राविधिक कार्यक्रम सञ्चालन गरिरहेको छ ।
कलेजले डिप्लोमा तहमा वन विज्ञान, वाली विज्ञान, फुड एण्ड डेरी टेक्नोलोजी, मेकानिकल इन्जिनियरिङ र इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ अध्यापन गराइरहेको छ । स्नातक तहमा बिएएलएलबी, बिबिए, बिएचटिएमलगायतका कक्षा सञ्चालित छन् ।
