सन् २०२२ मा पाल्पाको बगनासकाली–२, पोखराथोकका एक जना बिरामीको मृत्यु भएको थियो भने सन् २०२५ मा पाल्पाका चार जनामा यो रोग पुष्टि भएको छ ।
What you should know
पाल्पा — सन् २०२२ मा पाल्पाको बगनासकाली गाउँपालिका–२, पोखराथोक लालपाटीका ५६ वर्षीय एक पुरुषको जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भयो । उनको पुष्टि हुँदा पाल्पामा १० वर्षपछि यो रोग देखा परेको थियो ।
रोगको सङ्क्रमण पुष्टि भएपछि तीन महिना लुम्बिनी मेडिकल कलेज र पुनः काठमाडौंमा उपचारका क्रममा उनको निधन भएको थियो । परिवारका अनुसार करिब ४५ लाख खर्च भए पनि बिरामी बाँच्न सकेनन् । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार जापानिज इन्सेफ्लाइटिस सर्वप्रथम रोग निदान गर्न समस्या छ । निदान गरेपछि पनि उपचारमा ठूलो धनराशि खर्च हुन्छ । अझ निको भएकाहरूको पनि शारीरिक समस्या आउने जोखिम रहन्छ ।
‘यसअघि यो रोग लागे पनि बिरामीलाई निदान गर्न सकिएको थिएन,’ स्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत विश्वनाथ न्यौपानेले भने, ‘सन् २०२२ मा एक जना र २०२५ मा चार जनामा रोगको निदान भएको छ ।’ उनका अनुसार सन् २०२५ मा चार जनामा जापानिज इन्सेफ्लाइटिस रोग पुष्टि भयो । जिल्लाका विभिन्न अस्पतालबाट स्वास्थ्य कार्यालयलाई जानकारी गराएपछि घरपरिवारका साथै अस्पतालसँग रोगका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको छ ।
सन् २०२५ मा पाल्पाको रैनादेवी छहराको जुठापौवा, तिनाउको दोभान, बगनासकाली गाउँपालिकाको पोखराथोक र रामपुर नगरपालिकामा यो रोग पुष्टि भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले बताए । जुठापौवामा ८ वर्षीय बालकमा यो रोग पुष्टि भएको थियो । जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । घर नजिकै धान खेत र पानी जम्ने स्थान बढी जोखिम हुन्छ । किनभने यसका लागि यो उपयुक्त वातावरण हो ।
यो रोग मान्छेबाट मान्छेमा सर्दैन । घर नजिकमा कुखुराको खोर, बंगुरको खोर रहेको छ भने रोग लाग्ने जोखिम हुने उनले बताए । यो रोगबाट सङ्क्रमित व्यक्तिमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, काप्ने, दिग्भ्रमित हुनेजस्ता समस्या देखिने गर्छ ।
रोग देखिए पनि गत वर्ष चारवटै स्थानमा स्थलगत निरीक्षण गरिएको थियो । लक्षण देखिएको मानिसका बारेमा जानकारी लिइएको उनले बताए । भाइरसबाट सङ्क्रमित सुंगुर–बंगुर, हाँस तथा जङ्गली पंक्षीलाई टोकेपछि लामखुट्टे सङ्क्रमित हुने स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन अधिकृत मधुसुधन भट्टराईले बताए । सोही लामखुट्टेले मानिसलाई टोक्दा यो रोग लाग्ने गर्छ ।
नेपालमा यसका विरुद्धको खोप २०७३ सालमा सुरु भएको हो । बच्चा जन्मेपछि एक वर्ष पुग्नै लाग्दा यो खोप दिइन्छ । जापानिज इन्सेफ्लाइटिसबाट यसअघि २०६८ सालमा रैनादेवी छहरा गाउँपालिका–७, बल्ढेङ्गगढीमा एक पुरुषको मृत्यु भएको थियो । स्वास्थ्य कार्यालयका अनुसार २०७० अघिसम्म वर्षमा एक/दुई केस देखिने गरेको थियो ।
यो रोग मस्तिष्कमा असर गर्ने भाइरल संक्रमण हो । चिकित्सकका अनुसार यो रोग संक्रमितमध्ये करिब एक तिहाइको मृत्यु हुन्छ । बाँचेका मध्ये आधासम्ममा जीवनभर गम्भीर अपांगता रहन सक्ने जोखिम उत्तिकै हुन्छ । सन् २०२५ जुनदेखि नेपालका ४५ जिल्लाका १ सय १७ स्थानीय तहमा फैलिँदा ३५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा देखिएको छ । गत वर्ष मात्र १ सय ७५ भन्दा बढी संक्रमित भएका थिए । सन् २०२४ मा २३ जनाको मृत्यु र ८० भन्दा बढीमा संक्रमण पुष्टि भएको थियो ।
नेपालमा विगत दुई दशकदेखि नियमित खोप कार्यक्रममार्फत जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइँदै आएको छ । १५ वर्षमुनिका सबै बालबालिकाले खोप पाइसकेका छन् । तर निदानमा कठिनाइ भएकाले वास्तविक संक्रमित संख्या अझ बढी हुन सक्छ । किनकि, परीक्षण प्रायः गम्भीर अवस्थामा अस्पताल भर्ना भएका बिरामीमा मात्र गरिँदै आएको छ । यो रोग लागेपछि मस्तिष्क र स्नायु प्रणालीमा स्थायी क्षति पुर्याउन सक्छ । यसको कुनै विशेष औषधि नभएकाले उपचार लक्षण व्यवस्थापनमा केन्द्रित हुने स्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत न्यौपानेले बताए ।
