खुट्टाले लेखेर परीक्षा दिइरहेका सन्देश

जन्मजात दुवै हात नचल्ने सन्देशले हार न मानेर खुट्टाले लेख्न सिकेर कक्षा ५ को परीक्षा दिइरहेका छन्।

चैत्र १०, २०८२

काशीराम डाँगी

The message being written with the feet and tested

What you should know

रोल्पा — रोल्पाको धाङ्सी गाउँका १२ वर्षीय बालक सन्देश बुढा मगरका दुवै हात चल्दैनन्। जन्मेदेखि नै उनका दुवै हात चलेनन् । खाना खाने, कपडा लगाउने र लेख्ने काम हातबाट गर्न सकेनन् ।

तर सन्देशले हरेस भने खाएनन् । पढ्न र लेख्न निकै रुचि भएका सन्देशले उपाय निकाले-खुट्टाले भए पनि लेख्ने। 'जहाँ समस्या त्यहाँ  उपाय' भने झैँ सन्देशले हातको सट्टा खुट्टाले नै लेख्न सिके । हाल कक्षा ५ को अन्तिम परीक्षा दिइरहेका सन्देशले नर्सरीदेखि नै खुट्टाले लेखेर परीक्षा दिएर उत्तीर्ण पनि हुँदै आए।

रोल्पा नगरपालिका-१० धवाङको धाङ्सी गाउँमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थी हुन् सन्देश । विद्यालयदेखि करिब आधा घण्टा टाढाको उनको घरबाट उनी दैनिक विद्यालय पुग्छन्।

घरमा उनलाई कपडा लाउन र अन्य काममा बुबाआमा र दिदीले सहयोग गर्छन्। पढ्ने र लेख्ने काम भने उनी आफैले गर्छन्। सन्देशका बुबा रामु बुढा मगर भन्छन्, 'घरको जेठो छोरा हुन् सन्देश। उनी जन्मेको समयदेखि नै दुवै हात चलेनन् । पछि लेख्न खुट्टाले सिके।'

रामु छोरा सन्देशका हात यस्तो हुनुको कारण थाहा नभएको बताउँछन्। भन्छन्, 'जन्मदै यस्तो भयो। तै पनि हार खाएन। पढ्ने रुचि छ, लेख्न खुट्टाले जाने पछि सजिलो मानेको छ।'

विद्यालयका प्रधानाध्यापक जयनसिंह बुढा मगरले सन्देशलाई सानैदेखि पढाउन थालेको बताए । उनी भन्छन्, 'यी बालकले सानैदेखि पढ्न रुचि राख्थे । विद्यालय आएदेखि नै खुट्टाले लेख्न अभ्यास गरे। आजभोलि त जतिसुकै गृहकार्य दिए पनि खुट्टाको सहयोगमा लेख्न सक्छन्।'

केही दिनदेखि सुरु भएको कक्षा ५ को वार्षिक परीक्षामा भाग लिन भने उनी करिब एक-डेढ घण्टा उकालोमा पर्ने हिमालय मावि गापामा पुग्छन्। परीक्षा गराइरहेका शिक्षक खिम बुढा मगरका अनुसार उनले सबै प्रश्नको जवाफ उत्तरपुस्तिकामा खुट्टाले लेख्ने गरेका छन्। यस्तो अवस्था देख्दा सबै छक्क पर्छन्।

गापास्थित हिमालय माविका प्रधानाध्यापक ज्ञानप्रसाद बुढा मगरले विद्यार्थी सन्देशको प्रतिभा देखेर खुसी लागेको बताए । अपांगता भएका विद्यार्थीले आफ्नै सीपको विकास गरेर नयाँ उपायसहित पढाइमा ध्यान दिएको देख्दा निकै खुसी लागेको उनलेे बताए ।

आफ्ना दुवै हातले लेख्न र अन्य काम गर्न न सक्ने भएपछि पनि हार न मानेका सन्देशले पढेर आफ्नो खुट्टामा आफै उभिने प्रण गरेका छन्। भन्छन्, 'कुनै पनि आपत पार गरेर म अलि पढ्न चाहन्छु। पढेर नयाँ काम गर्न चाहेको छु।'

उनले हात भएर पनि किन काम न गरेको भनेर राम्रोसँग जचाउन चाहेको बताए । 'दुर्गम गाउँमा जन्मे, बुबाआमाले जाँच गराउन र हात न चल्नुको कारण पत्ता लाउन सक्नुभएन । म पढेर यस बारेमा जान्न चाहन्छु,' उनी भन्छन्।  

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully