कपिलवस्तुमा निषेधाज्ञा हटाइयो 

मंगलबार बिहान ९ बजेदेखि निषेधाज्ञा हटाइएको हो ।

चैत्र १०, २०८२

मनोज पौडेल

Prohibition order lifted in Kapilvastu

कपिलवस्तु — जिल्लाको विभिन्न ठाउँमा लगाइएको निषेधाज्ञा आदेश स्थानीय प्रशासनले हटाएको छ । मंगलबार बिहान ९ बजेदेखि निषेधाज्ञा हटाइएको हो ।

महाराजगन्ज नगरपालिका, वडा नं. २ को बर्गदा गाउँमा शनिबार बिहान दुई समुदायबीच भएको विवादले उग्र रूप लिँदै असहज र तनावको अवस्था बन्न थालेपछि जिल्ला प्रशासन कार्यालयले शनिबार दिउँसो २ बजेदेखि महाराजगन्ज नगरपालिकाको विभिन्न क्षेत्र तोकेर निषेधाज्ञा जारी गरेको थियो । 

अवस्था सहज हुँदै गएपछि शान्ति सुरक्षाको अवस्था सामान्यीकरण गर्दै नागरिकको जीवनयापन सहज बनाउन निषेधाज्ञा आदेश हटाइएको सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरले बताए । महाराजगन्ज नगरपालिकाको क्षेत्रमा शनिबार दिउँसो दुई बजेदेखि र कपिलवस्तु नगरपालिका, मायादेवी र शुद्धोदन गाउँपालिकाका क्षेत्रमा आइतबार दिउँसो १ बजेबाट भेला, सभा, जुलुस र प्रर्दशन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको थियो । 

गत चैत ७ गते जिल्लाको महाराजगन्ज नगरपालिका-२, बर्दगा गाउँमा दुई समुदायबीच विवाद हुँदा जिल्लाको दक्षिणी क्षेत्र अशान्त बनेको थियो । सोमबार साँझदेखि जिल्लाको अवस्था सामान्य बन्दै गएपछि जनजीवन सहज बनेको छ । 

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully