पाल्पाका गढी र किल्लामा १६१ किलोमिटर पदयात्राको तयारीमा नेपाली सेना

पृथ्वीनारायण शाहले राज्य एकीकरणका क्रममा प्रयोग गरेको पदमार्ग पहिचान गर्न चौथो पटक पदयात्रा आयोजना गरिएको हो ।

चैत्र १०, २०८२

माधव अर्याल

Nepali Army preparing for 161-kilometer trek to Palpa forts and forts

पाल्पा — पाल्पाका गढी तथा किल्लाहरूमा नेपाली सेनाले १६१ किलोमिटर पदयात्राको तयारी गरेको छ । रामपुर नगरपालिकाको केलादी घाटबाट सुरु भएर पूर्वखोलाको वाकुमगढी, हात्तीलुङको माथागढी, तानसेन नगरपालिकाको प्रवास (तानसेन) र तिनाउ गाउँपालिकाको जितगढी (नुवाकोट पाल्पा) सम्म नेपाली सेनाले यस वर्ष पनि पदयात्रा गर्न लागेको हो । 

दि फेमस महीन्द्र दल गणका प्रमुख शान्तकुमार थापाका अनुसार पृथ्वीनारायण शाहले राज्य एकीकरणका क्रममा प्रयोग गरेको पदमार्ग पहिचान गर्न चौथो पटक पदयात्रा आयोजना गरिएको हो । 

पदयात्रा वैशाख २ गतेदेखि ७ गतेसम्म हुनेछ । एकीकरण पदयात्रामा रामपुर नगरपालिकास्थित केलादी घाटबाट सुरु भएर नुवाकोट (तिनाउ, पाल्पा) मा पुगेर सकिनेछ । चैत २७ गते गोरखाबाट ‘ऐतिहासिक गोरखा-जितगढी’ पदयात्राका लागि सेनाको टोलीप्रस्थान गर्नेछ ।

सोही टोलीलाई रामपुर नगरपालिका केलादीघाटमा स्वागत गर्ने कार्यक्रम छ । त्यसपछि पाल्पाको दि फेमस महीन्द्र दल गणले जिल्लाका गढी तथा किल्लामा पदयात्रा गर्ने सेनाली डिलबहादुर राना मगरले बताए । पदयात्रा वैशाख ७ गते रुपन्देहीको जितगढीमा पुगेर सकिनेछ । टोलीमा ५३ जना रहनेछन् । स्थानीय बासिन्दा, जनप्रतिनिधि, विद्यालयका विद्यार्थी, टोल विकास संस्थाका प्रतिनिधिले ठाउँठाउँमा स्वागत तथा बिदाइ गर्नेछन् ।

Nepali Army preparing for 161-kilometer trek to Palpa forts and forts

रामपुरको केलादीदेखि सुरु भएर लक्ष्मीनारायणको ऐतिहासिक पौवा, देवीस्थान, सीताकुण्ड, बेलडाँडा, सिलुवा, जब्गादी, बीरकोट हुँदै बाकुमगढीमा पुग्नेछ । बाकुमगढीबाट ताँहु, हुमीन, देवीनगर, मुन्टुङ, केरौली, झडेवा, जगात, गोठादी हुँदै माथागढी पुग्नेछ । यस्तै, माथागढीबाट हर्नेटार (झडेवा), मरमरा, सिकारकोट (कसेनी), दमार, एक्लेबर सराई, दमकडा (तानसेन) भएर प्रवासमा बस्नेछ । चौथो दिनमा प्रवासदेखि बर्तुङ तानसेन, रणउजीरेश्वरी भगवती मन्दिरबाट पुनः काजीपौवाबाट डुम्रे, मस्याम, सिस्ने, मरेक झुम्सा, दोभान भएर नुवाकोट गढीमा पुग्ने नेपाली सेनाको दि फेमस महीन्द्र दल गणले जनाएको छ । अन्तिम दिनमा नुवाकोटदेखि जितगढीसम्मको यात्रा गरेर समापन हुनेछ । 

पदयात्राले नेपाली सेना र स्थानीय जनताबीचको सम्बन्ध सुमधुर हुने तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताए । नगरपालिका र गाउँपालिकाले स्वागत, सत्कार, सम्मान, सांस्कृतिक झाँकी प्रदर्शन र पदयात्रामा सहभागिता जनाउनेछ । नेपाली सेनाको गौरवपूर्ण इतिहासप्रति आम नागरिकको अभिरुचि बढ्ने विश्वास लिइएको छ भने सन्ततिलाई विगतमा के भए भन्ने जानकारी लिन सहज हुने रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । पदयात्राले पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताए । वीर योद्धाहरूले अंग्रेज फौजलाई परास्त गरेको, एकीकरणका अवसरमा के भएको थियो भन्ने पनि भावी पुस्तालाई यो पदयात्राले जानकारी हुने उनले बताए । 

पदयात्रामा आम नागरिक, स्थानीय बासिन्दा, जनप्रतिनिधिहरूको सहभागिताले अझ महत्त्व बढाउने माथागढी गाउँपालिका अध्यक्ष यम चिदीले बताए । ऐतिहासिक गढी तथा किल्लाको संरक्षण गर्नमा स्थानीय तहले चासो दिने विश्वास लिइएको छ ।

साथै स्थानीय बासिन्दाको गढी र किल्लाप्रति अपनत्व बढाउन पनि सहयोग पुग्ने पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले बताए । पदयात्राले नेपाली सेना र नागरिकको सम्बन्ध सुमधुर बनाउन सहयोग पुग्ने भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष अशोक महर्जनले बताए । विगत तीन पटकको पदायात्राको अनुभव र सिकाइबाट थप प्रभावकारी बनाउन यो पदयात्रा सफल हुनुपर्ने तानसेन नगरपालिका वडा नम्बर-६ का अध्यक्ष सागरमान महर्जनले बताए ।  

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully