प्रहरीले स्थिति नियन्त्रण लिन ९ राउन्ड हवाई फायर र ४ राउन्ड अश्रुग्यास प्रहार गरेको छ ।
काठमाडौँ — गुलरिया नगरपालिका–११ गणेशपुरमा स्थानीय र प्रहरीबीच झडप हुँदा ११ प्रहरी घाइते भएका छन् । लागुऔषध कारोबारविरुद्ध प्रदर्शनपछि गरिएको हुलाकी सडक बन्द खुलाउन गएका प्रहरी र स्थानीयबीच झडप भएको हो ।
झडपमा केही स्थानीय पनि घाइते छन् । प्रहरीले स्थिति नियन्त्रण लिन ९ राउन्ड हवाई फायर र ४ राउन्ड अश्रुग्यास छाडेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी प्रमेश विष्टले बताए ।
घटनास्थलबाट प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको उनले बताए । 'प्रहरीमाथि नै ढुंगा प्रहार हुन थालेपछि हवाई फायर र अश्रुग्यास हान्नेपरेको हो,' उनले भने । प्रहरीका सहायक हवलदार सन्तोष विक गम्भीर घाइते भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
केही समययता भारतबाट भित्रिएको लागुऔषध ब्राउन सुगर, कोरेक्स लगायतका पदार्थ सेवन गर्दा दुई जनाको ज्यान गएको भन्दै स्थानीय सडकमा उत्रेका थिए । भारतको सीमावर्ती लौकही बजार जाने नाका बन्द गर्नुपर्ने, भारतमा लागुऔषध बेचबिखन गर्नेमाथि कारबाहीको माग राख्दै सडक बन्द गरेको गुलरिया–११ नम्बर वडाका पूर्वअध्यक्ष रामनारायण केशरीले बताए ।
लागुऔषधको हब बन्दै गएकाले नाका पूर्ण बन्दगर्नु पर्ने उनीहरुको मुख्य माग छ ।
