भारत उत्तर प्रदेश सन्तकवीर नगरका १७ वर्षीय फहरान अन्सारी र १७ वर्षीय अमान अन्सारीको शव फेला परेको हो ।
पाल्पा — पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित तिनाउ खोलामा आइतबार डुबेर बेपत्ता भएका दुई भारतीय पर्यटकको शव भेटिएको छ ।
भारत उत्तर प्रदेश सन्तकवीर नगरका १७ वर्षीय फहरान अन्सारी र १७ वर्षीय अमान अन्सारीको शव फेला परेको हो । तिनाउ-३ स्थित ड्याम साइडमा आइतबार दिउँसो नुहाउन गएका बेला दुई जना बेपत्ता भएका थिए।
प्रहरीका अनुसार सोमबार बिहान करिब १० बजेतिर नदीमा बेपत्ता भएको स्थानभन्दा करिब एक सय मिटर तल फहरान अन्सारीको शव फेला परेको हो । नजिकै दिउँसोतिर अमान अन्सारीको पनि शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले जानकारी दिए।
उनीहरुसँगै घुम्न आएका अन्य पाँच जना भने सकुशल रहेका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। प्रहरी, सशस्त्र र सशस्त्रकै गोताखोर टोलीले आइतबारदेखि खोजी गरिरहेको थियो ।
