विश्वमै शान्तिको सन्देश फैलाउने ठाउँको उद्गमस्थल कपिलवस्तु अशान्त हुनु दुःखद भएको भन्दै सबै पक्ष र समुदाय मिलेर बुद्ध शिक्षा अनुसरण गरी करुणा, मैत्री र सद्भाव देखाउनुपर्ने बेला आएको लुम्बिनी शाक्यमुनि वृद्धा अनाथ आश्रमका अध्यक्ष ओमकार पाण्डेको जिकिर ।
कपिलवस्तु — लुम्बिनी शाक्यमुनि वृद्धा अनाथ आश्रमका अध्यक्ष ओमकार पाण्डेले तीन दिनदेखि अशान्त र असामान्य रहेको शाक्यवंशीय राजधानी कपिलवस्तुमा शान्ति र सद्भाव कायम गरेर अमनचैन कायम गर्न आग्रह गरेका छन् ।
विश्वमै शान्तिको सन्देश फैलाउने ठाउँको उद्गमस्थल कपिलवस्तु अशान्त हुनु दुःखद भएको भन्दै सबै पक्ष र समुदाय मिलेर बुद्ध शिक्षा अनुसरण गरी करुणा, मैत्री र सद्भाव देखाउनुपर्ने बेला आएको उनले बताए ।
गौतम बुद्धले देखाएको अहिंसा, शान्ति, मानव कल्याणको मार्ग र उपदेश अहिलेको अशान्त कपिलवस्तुका घटनामा पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै उनले सबै पक्ष मिलेर बुद्ध स्थलको जनजीवन सहज बनाउनु पर्ने दाबी गरे ।
‘बुद्धको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्न सकेमा अहिले कपिलवस्तुलाई चाहिएको एकता, सहिष्णुता र आपसी सद्भावले नयाँ उचाइ लिएर शान्ति बहाल हुन सहयोग पुग्नेछ,’ उनले भने ।
गत शनिबार जिल्लाको महाराजगन्ज नगरपालिका–२, बर्दगा गाउँमा धार्मिक विवाद हुँदा जिल्लाको दक्षिणी क्षेत्र अशान्त बनेको छ ।
