कपिलवस्तुको जनजीवन सहज बनाउन सद्भाव बैठक 

बजार क्षेत्रमा भेला भएका मानिसलाई घर फर्कन आह्वान गर्दै वातावरण सहज बनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।

चैत्र ८, २०८२

मनोज पौडेल

Harmony meeting to make life easier for Kapilvastu residents

What you should know

कपिलवस्तु — कपिलवस्तुको जनजीवन सहज बनाउने सामूहिक प्रतिबद्धता गरिएको छ ।

महाराजगन्ज नगरपालिका-२ को बर्गदा गाउँमा शनिबार दिउँसो दुई समुदायबीच भएको विवादले जनजीवन असामान्य बन्दै गएको थियो । जिल्लास्तरीय समन्वय/सद्भाव बैठक बसेर आगामी दिनमा कुनै पनि पक्षबाट हिंसात्मक, उक्साहटपूर्ण गतिविधि र साम्प्रदायिक सद्भाव खलबलिने गतिबिधि नगर्ने र हुन नदिने सामूहिक प्रतिबद्धता जनाइएको हो ।

जिल्ला प्रशासन कार्यालयद्वारा तौलिहवामा आयोजित बैठकमा घटनाका केही दोषी पक्राउ परेको र अन्यको खोजी कार्य र अनुसन्धान भइरहेकाले दोषीलाई पक्राउ गरी कानुन बमोजिम कडा कारबाही गर्ने जानकारी गराइएको थियो । घटनामा घाइते भएकाको उपचारका लागि गृह मन्त्रालय र महाराजगन्ज नगरपालिकालाई अनुरोध गर्ने पनि निर्णय गरिएको छ । 

भ्रामक सूचना, घृणाजन्य अभिव्यक्ति र कसैको उक्साहटमा अशान्ति पैदा गर्ने र गैरकानुनी गतिविधि गरेमा स्थानीय प्रशासनले कडा कारबाही गर्ने निर्णय गरिएको छ ।

महाराजगन्ज नगरपालिकाले स्थानीय स्तरमा शान्ति कायम राख्न सचेतना र मेलमिलाप जस्ता कार्यक्रमलाई प्राथमिकता दिने, जोखिम क्षेत्रको पहिचान गर्ने, घटनाका घाइतेलाई आवश्यक सहयोग गर्ने, बजार, शैक्षिक संस्था, सार्वजनिक सेवा सञ्चालन गर्न समन्वय गर्ने निर्णय गरिएको छ ।

आइतबार बजार क्षेत्रमा मानिस भेला भइरहेको र हुन सक्ने भएकाले आआफ्नो तहबाट त्यस्तो कार्य नगर्न र घर फिर्ता गराई वातावरण सहज बनाउन प्रतिबद्ध रहेको निर्णय भएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । बैठकमा सबै संयमित भई शान्ति सुरक्षा अमनचैन कायम गरेर सद्भावपूर्ण तरिकाले सबै समुदायलाई बस्न नवनिर्वाचित सांसद विक्रमसिंह थापाले आग्रह गरेका छन् । 

प्रजिअ गौतमले जिल्लाको शान्ति सुरक्षा र सद्भाव कायम राख्न सबै पक्षलाई अपिल गरेका छन् । घटनाका दोषी कसैलाई नछाडिने र सबैलाई संयमित भई जिम्मेवार नागरिकको भूमिका निर्वाह उनले विज्ञप्ति प्रकाशित गर्दै आग्रह गरेका छन् ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully