चैत्र १५ सम्म चल्ने प्रतियोगितामा नेपाल र भारतका गरी १६ टीम सहभागी छन् ।
What you should know
भैरहवा — यहाँ सुरु ‘प्रथम बटौली कप टी–२० क्रिकेट आइतबार सञ्चालन भएका दुई खेलमा बुटवल गोलपार्क क्रिकेट क्लब र स्टार क्रिकेट एकेडेमी विजयी भएका छन् ।
गोलपार्कले लुम्बिनी शाक्यन क्रिकेट क्लबलाई ६३ रन र स्टारले पाल्पा–११ लाई ५ विकेटले पराजित गरेको थियो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको गोलपार्कले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ५३ रन बनायो ।
उसका लागि ईश्वर क्षेत्री र सागर गैरेले समान ३७–३७, सुजन गौतमले १९, दीपेश रोकाले १५ र हरजीत सिंहले १० रन जोडे । बलिङमा लुम्बिनी शाक्यनका सचिन राजभरले ३, अजमत अली र गल्सन यादवले २–२ तथा आकाश गिरीले १ विकेट लिए ।
जवाफी ब्याटिङमा लुम्बिनी शाक्यनले ७ विकेटको क्षतिमा ९० रन मात्रै बनायो । उसका लागि प्रियान्सु बर्माले २८ र राहत हुसेनले १९ रन बनाए । बलिङमा गोलपार्कका सागर गिरी र हरजीत सिंहले समान २–२ तथा कलम अली, सुमित थापा र रिक्की पुनले १–१ विकेट हात पारे ।
दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको पाल्पाले १९ ओभर ३ बलमा सबै विकेट गुमाएर ९५ रन मात्रै बनायो । उसका लागि जय गोदारले २१, नविन भण्डारीले १९, रोशन घिमिरले १३ र सन्दीप बनियाँले १२ रन बनाए । बलिङमा स्टारका प्रेमसागर यादव, लेख क्षेत्री, कृष्ण विक र किशान भारतीले समान २–२ तथा प्रज्जवल अर्याल र सुमन केसीले १–१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको स्टारले १७ ओभर ४ बलमा ५ विकेट गुमाएर ९६ रन बनाउँदै जित निकाल्यो । उसको जितमा विन्दराम यादवले ४३, आशिष यादवले २२ र रन्जित मौर्यले १३ रनको योगदान गरे । बलिङमा पाल्पाका जय गोदारले ३ तथा शिशिर लुईंटेल र मनिष न्यौपाले १–१ विकेट लिए । खेलमा किशान भारती प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।
पृथ्वीनारायण शाह स्पोर्टस प्रतिष्ठानको आयोजना, रुपन्देही क्रिकेट संघको व्यवस्थापन र बुटवल उपमहानगरपालिकाको सहयोगमा प्रतियोगिता सुरु भएको हो । चैत्र १५ सम्म चल्ने प्रतियोगितामा नेपाल र भारतका गरी १६ टीम सहभागी छन् ।
आयोजकका अनुसार प्रतियोगिताको विजेता टिमले नगद ५० हजार प्राप्त गर्नेछ । यस्तै, उपविजेताले नगद २५ हजार, म्यान अफ द सिरिजले १० हजार, बेष्ट बलर र ब्याटरले जनही ५ हजार तथा प्रत्येक खेलको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
