मेलामा प्रतियोगितात्मक कृषि प्रदर्शनी, रैथाने बाली प्रदर्शनी, प्रतियोगितात्मक बाख्रा, कुखुरा प्रदर्शनी, कृषियन्त्र उपकरण प्रदर्शनी, बीउबिजन प्रदर्शनी तथा बिक्री वितरण गरिएको थियो ।
What you should know
पाल्पा — पाल्पाको टिन्टीआँपमा कृषि मेला पर्यटन प्रदर्शनी आइतबार सकिएको छ । ‘कृषि उत्पादन बढाऔं, परनिर्भरताको अन्त्य गरौ’ भन्ने नाराका साथ चौथो मेलामा किसानले आफूले उत्पादन गरेका सामग्री प्रदर्शनीका लागि ल्याएका थिए ।
चैत महिना सुख्खा मौसम भए पनि किसानले उत्कृष्ट कृषि प्रदर्शनी गरेको तानसेन नगरपालिका–९ का वडाध्यक्ष राजेशकुमार अर्यालले बताए । तानसेन नगरपालिका–९, टिन्टीआँपको मदनपोखरा संगम बहुउद्देयीय सहकारी संस्थाले ९ नम्बर वडा कार्यालयको प्रवर्द्धनात्मक सहयोगमा राखेको प्रदर्शनीले किसानलाई कृषिमा प्रोत्साहन गर्न सहयोग पुगेको किसानले बताएका छन् ।
प्रदर्शनीमा किसानले उत्पादन गरेका बस्तुहरूको प्रदर्शनी तथा एकापसमा अनुभव साटासाट गर्ने अवसर जुटेको अगुवा कृषक पदमराज पौडेलले बताए । उत्पादनमा आधारित, ढुवानी अनुदान, बजारीकरणमा सहजीकरण गर्नुपर्ने उनले बताए । तानसेन नगरपालिकाका विभिन्न स्थानका साथै माथागढी र बगनासकालीका किसानले समेत उत्पादित खाद्य तथा तरकारी प्रदर्शनीका लागि ल्याएको सहकारीका अध्यक्ष घनश्याम घिमिरेले बताए ।
प्रतियोगितात्मक कृषि प्रदर्शनी, रैथाने बाली प्रदर्शनी, प्रतियोगितात्मक बाख्रा, कुखुरा प्रदर्शनी, कृषियन्त्र उपकरण प्रदर्शनी, बीउबिजन प्रदर्शनी तथा बिक्री वितरण गरिएको थियो । खाद्यान्न, तरकारी, लहरेबाली, जरेबाली लगायत खसीबोका, कुखुरा प्रदर्शन गर्नुका साथै नर्सरी बिरुवा बिक्री वितरण, प्लान्ट क्लिनिक, माटो परीक्षण गरिएको सहकारीका निवर्तमान सचिव छवि भट्टराईले बताए । तरकारी तथा अन्नबाली १ सय ९५, कुखुरा ८ र खसीबोका ११ वटा ल्याएका थिए ।
मेला तथा प्रदर्शनीमा ल्याएका सामग्रीलाई विभिन्न विधामा मूल्यांकन गरी किसानलाई पुरस्कृत गरिएको छ । कृषि मेला तथा प्रदर्शनीमा तरकारी खेती, पुष्पखेती, स्थानीय रैथाने बाली, गानो बाली, खाद्यान्न, दलहन, तेलहल, चियाकफी, मसलाबाली, विविध गरी १ सय ९५ बढी सामग्री राखिएको थियो । कृषि मेला तथा प्रदर्शनीमा खाद्यान्नतर्फ रानीचुडी टोल विकास संस्था मदनपोखरा, मसलाबालीतर्फ तानसेन नगरपालिका–१० विनोदकुमार शर्मा, विविध विधातर्फ तानसेन नगरपालिका–१० का महेश्वर पन्थ, तरकारी बालीतर्फ तानसेन नगरपालिका–७ का राना कृषि तथा पशुपंक्षी फर्म, जरे तरकारीतर्फ तानसेन नगरपालिका–६ का विष्णुप्रसाद बस्याल उत्कृष्ट भए ।
कुखुरा जाततर्फ तानसेन नगरपालिका–७ का चन्द्रबहादुर कुमाल, खसीबोकातर्फ तानसेन नगरपालिका–७ कै कृष्णबहादुर कुमाल उत्कृष्ट भए । सोही अवसरमा सहकारीले टिन्टीआँप र दमकडाका अगुवा किसान पदमराज पौडेल, तुलसीदेवी गैरे, हरिश्चन्द्र भुसाल, चिन्तामणि पंगेनीलाई सम्मान गरेको छ । साथै माथागढी रुप्से दोहोराका दामोदर घर्ती, मदनपोखरा पाडेखर्कका शुक्रबहादुर बौडेल, तानसेन नगरपालिका–१० तेल्घा प्रभासका रामबहादुर कुमाललाई समेत सम्मान गरिएको छ ।
विजयी तथा सम्मानित किसानलाई तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ, सहकारीका अध्यक्ष घनश्याम घिमिरे, वडाध्यक्ष राजेशकुमार अर्याल लगायतले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । कार्यक्रममा तानसेन नगरपालिका–७ का वडाध्यक्ष प्रदीप खनाल, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले कृषि मेला तथा प्रदर्शनीले किसानमा थप हौसला मिल्ने भएकाले जिल्लास्तरमै यस्ता मेला प्रदर्शनी गर्नुपर्नेमा जोड दिए । मेला तथा प्रदर्शनीमा लोक तथा भजनगायक शिरिष देवकोटाले दर्शकलाई नचाए भने स्थानीय कला संस्कृति जगेर्ना गर्ने नृत्यसमेत प्रस्तुत गरियो ।
