जनजीवन सहज बनाउन सर्वपक्षीय बैठक

जनजीवन सहज र शान्त बनाउन अहिले सदरमुकाम तौलिहवास्थित जिल्ला प्रशासन कार्यालयमा बिहान ९ बजेबाट सर्वपक्षीय बैठक बसिरहेको छ ।

चैत्र ८, २०८२

मनोज पौडेल

All-party meeting to make life easier for people

कपिलवस्तु — महाराजगंज नगरपालिकाको बर्गदा गाउमा शनिबार दिउँसो भएको दुई समुदायबीचको विवादले तनावग्रस्त बनेको तौलिहवा–बहादुरगंज हुलाकी सडक खण्डको जनजीवन सामान्य बन्दै गएको छ । उक्त बाटोमा अहिले निजी सवारी साधनहरु सञ्चालन नभएका छन् । सर्वसाधारणले सहज रुपमा आवतजावत गरिरहेका छन् । 

घटनापछि निमित्त प्रजिअ भविश्वर घिमिरेले सूचना जारी गर्दै शनिबार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्म महराजगंज नगरपालिकाको पूर्व बगर्दी पुल, पश्चिम बहादुरगंज चोक, उत्तर महाराजगंज बजार र दक्षिण हर्दौनासम्म भेला, सभा, जुलुस र प्रर्दशन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेका थिए । 

निषेधाज्ञाकै बीच विवाद भएको ठाउँ बर्गदागाउँभन्दा पश्चिम महाराजगंज नगरपालिका वडा नं. ६, जिगना चौराहामा विरोध प्रदर्शन गरिरहेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । प्रदर्शन अनियन्त्रित हुन थालेपछि प्रहरीले गोली चलाएको थियो । हिजोको घटनामा सर्वसाधारण र प्रहरी गरी २३ जना घाइते भएको जिल्ला प्रहरी प्रमुख उपरीक्षक सन्तोष आचार्यले बताए । 

प्रहरीतर्फ प्रहरी निरीक्षक सहित ११ जना तथा सशस्त्र प्रहरीका ६ जना घाइते भएका छन् । प्रदर्शनकारीतर्फ ६ जना घाइते भएका छन् । त्यसमध्ये चारजनालाई गोली लागेको छ । चारजनाको भैरहवामा उपचार भइरहेको छ भने एकजनाको भरतपुरमा उपचार भइरहेको छ । एकजनाको बहादुरगंजस्थित शिवराज अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकोछ । 

नौ जनालाई प्रहरीले नियन्त्रण लिएको उपरीक्षक आचार्यले जानकारी दिए । सुरक्षालाई मध्य नजर गरी उक्त निषेधाज्ञा अहिले पनि कायम रहेको प्रजिअ जनार्दन गौतमले बताए । जनजीवन सहज र शान्त बनाउन अहिले सदरमुकाम तौलिहवास्थित जिल्ला प्रशासन कार्यालयमा बिहान ९ बजेबाट सर्वपक्षीय बैठक बसिरहेको छ । सबैलाई संयम भई शान्ति सुरक्षा कायम राख्न लागि सहयोग गर्न प्रजिअ गौतमले अपिल गरेका छन् ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully