शुक्रबारदेखि परेको वर्षाले सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा सानाठूला ढुंगा खसेपछि स्थानीय प्रशासनले सवारी साधन संचालनमा रोक लगाएको छ ।
What you should know
पाल्पा — शुक्रबारदेखि परेको वर्षाले सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा सानाठूला ढुंगा खसेपछि स्थानीय प्रशासनले सवारी साधन संचालनमा रोक लगाएको छ ।
शुक्रबार दिउँसोसमेत सानाठूला सिद्धबाबा क्षेत्रमा खसेको थियो । शनिबार बिहानैदेखि पानी पर्न थालेपछि राजमार्गको तानसेन–वुटवल सडक खण्ड अन्तर्गत तिनाउ गाउँपालिका–३, सिद्धबाबा क्षेत्रमा सवारी साधन रोक लगाइएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सूचना अधिकारी होमप्रकाश चौधरीले मौसममा सुधार आउनासाथ सवारी साधन संचालन गर्न दिइनेछ ।
अहिलेलाई सवारी साधन संचालन गर्न जोखिम भएकाले केही घण्टाका लागि सवारी साधन संचालनमा रोक लगाइएको चौधरीले बताए । शुक्रबारदेखि यस क्षेत्रमा पानी परेको छ । दोभान प्रहरी चौकीदेखि चिडियाखोलासम्म सिद्धार्थ राजमार्गमा जोखिम रहेको छ । सुरुङमार्ग निर्माण भइरहेको भए पनि त्यसको बाहिर ढुंगा खस्न रोकिएको छैन ।
वर्षा हुनासाथ पहिरो भन्दा साना ठूला सवारी साधन खस्ने समस्या रहेको तिनाउ गाउँपालिका ३, दोभानका स्थानीय विष्णुप्रसाद पाण्डेयले बताए । पानी पर्ने क्रम नरोकिएकाले पनि यात्रुलाई थप समस्या हुने गर्छ ।
सम्भावित जोखिमबाट जोगाउन केही घण्टा सवारी साधन स.चालन गर्न नदिएकाले अत्यावश्यक कामबाहेक घरबाहिर नहिड्न स्थानीय यातायात व्यवसायीलेसमेत सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन् ।
श्रीनगर यातायात व्यवसायी कम्पनी प्रालिका कार्यालय प्रमुख भविन्द्र गौतमले सवारी साधन संचालन नगर्न र यात्रुलाई अत्यावश्यक काम बाहेक यात्रा नगर्न आग्रह गरेको बताए । प्रहरीले बुटवलतर्फबाट आउने सवारी साधनलाई तल्लो सिद्धबाबा क्षेत्रमा र तानसेनतर्फबाट बुटवल हिडेका सवारी साधनलाई दोभान प्रहरी चौकीबाट जान दिएको छैन ।
सिद्दार्थ राजमार्ग भएर बुटवलवाट पोखरा, स्याङजा, गुल्मी, अर्घाखाँची, बाग्लुङसम्म जाने यात्रु साथै र त्यसतर्फवाट बुटवलतर्फ जाने सवारी साधन र यात्रु ओहोरदोहोर गर्छन् । माथिल्लो भेगको पहाडको टुप्पाबाट ढुंगा खस्ने भएकोले यात्रुहरु पैदल समेत हिँड्न सक्ने अवस्था रहन्न ।
