तानसेन–वुटवल सडक खण्ड अन्तर्गत तिनाउ गाउँपालिका–३ सिद्धबाबा क्षेत्रमा भारी वर्षा भएर जोखिम बढेपछि सवारी साधन रोक लगाइएको थियो ।
पाल्पा — पानी पर्न रोकिएपछि सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्ड सुचारु भएको छ । शनिबार बिहानैदेखि पानी परेर सिद्धबाबा क्षेत्रमा सानाठूला ढुंगा खसेपछि स्थानीय प्रशासनले सवारी साधन संचालनमा रोक लगाएको थियो।
तानसेन–वुटवल सडक खण्ड अन्तर्गत तिनाउ गाउँपालिका–३ सिद्धबाबा क्षेत्रमा भारी वर्षा भएर जोखिम बढेपछि सवारी साधन रोक लगाइएको थियो । वर्षा रोकिएपछि जोखिम कम हुनासाथ सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सूचना अधिकारी होमप्रकाश चौधरीले बताए ।
शुक्रबारदेखि पाल्पालगायत सिद्धबाबा क्षेत्रमा पानी परेको छ । दोभान प्रहरी चौकीदेखि चिडियाखोलासम्म सिद्धार्थ राजमार्गमा जोखिम छ । सुरुङमार्ग निर्माण भइरहे पनि त्यसको बाहिर ढुंगा खस्ने समस्या उस्तै छ । सिद्धबाबा क्षेत्रमा सवारी साधन चल्न नदिएपछि प्रभास, बुटवल, दोभान, केराबारी, जोरधारालगायतका स्थानमा सयौं सवारी साधन रोकिएका थिए ।
प्रहरीले बुटवलतर्फबाट आउने सवारी साधनलाई तल्लो सिद्धबाबा क्षेत्रमा र तानसेनतर्फबाट बुटवल हिँडेका सवारी साधनलाई बर्तुङदखि दोभान प्रहरी चौकीसम्म विभिन्न स्थानबाट जान दिएको थिएन । सिद्धार्थ राजमार्ग भएर बुटवलबाट पोखरा, स्याङजा, गुल्मी, अर्घाखाँची, बागलुङसम्म ओहोरदोहोर गर्छन् ।
