रोल्पाका पुराना एमाले नेताद्वारा पार्टी परित्याग

पार्टीभित्र गुटबन्दी र चरम अवसरवाद मौलाएको आरोप ।

चैत्र ७, २०८२

काशीराम डाँगी

Former UML leader from Rolpa leaves party

What you should know

रोल्पा — जिल्लाका पुराना एमाले नेता एवं त्रिवेणी गाउँपालिकाका संस्थापक अध्यक्ष शान्तकुमार वलीले पार्टी परित्याग गरेका छन्। शनिबार एक विज्ञप्ति जारी गर्दै वलीले एमालेसँगको ३४ वर्ष लामो राजनीतिक यात्रा अन्त्य गरेको बताएका हुन्।

विज्ञप्तिमा पार्टी परित्यागको घोषणा गरेका उनले पछिल्लोपटक पार्टीको नीति जनमुखी हुन नसकेको समेत बताएका छन् । 'पार्टीको मूल नीति र नेतृत्वले जनताको भावना बुझ्न सक्ने खालको छैन। चरम अवसरवाद र फरक विचारको बेवास्ता गर्नु राम्रो होइन। यस्तोमा एमालेमा बसिरहन नैतिकताले मिल्दैन। म अब स्वतन्त्र हुन चाहन्छु र सामाजिक कार्यमा लागिरहन चाहन्छु,' वलीले भनेका छन्।

उनी पार्टीको पूर्वजिल्ला अध्यक्ष, पूर्वकेन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा विभिन्न निर्वाचनमा उम्मेदवार बनिसकेका नेता हुन्। उनले शनिबार जारी गरेको विज्ञप्तिमा पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको बताएका हुन्। उनी

२०४६ देखि विद्यार्थी राजनीतिमा लागेका थिए। एमालेको नीति र सिद्धान्तमा रहेर रोल्पाको कम्युनिष्ट आन्दोलनमा सक्रिय भएर तत्कालीन सशस्त्र द्वन्द्वको अवधिमा उनले मुस्किलले ज्यान जोगाएका थिए। तत्कालीन  राज्य  र विद्रोही माओवादीको निशानामा पटकपटक परेका थिए । पार्टी नेतृत्वमा रहँदा जिल्लाको समग्र विकास निर्माणका कार्यमा समेत अगुवा मानिन्छन् । त्रिवेणी गाउँपालिकाको संस्थापक अध्यक्षका रूपमा उनले २०७४ को स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएर विकासको जग बसाल्न महत्वपूर्ण भूमिका खेलेका थिए भने उनले पछिल्लो समय पार्टीमा मौलाएको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउदै आएका थिए ।

​पार्टी नेतृत्वले देश, जनता र क्रान्तिको सिद्धान्तभन्दा व्यक्ति केन्द्रित 'चरम अवसरवाद' र 'गुटबन्दी' लाई प्रश्रय दिएको वलीले आरोप लगाएका छन्। 'पार्टी निर्माणमा योगदान गरेका योग्य कार्यकर्तालाई पाखा लगाएर नेतृत्वको वरिपरि घुम्ने अन्धभक्तहरूलाई स्थापित गर्ने र व्यक्तिगत स्वार्थका लागि जोसँग पनि सम्झौता गर्ने प्रवृत्ति हाबी भयो,' उनले विज्ञप्तिमा भनेका छन्, 'यस्तो परिस्थितिमा पार्टी सदस्य भइरहनुको सान्दर्भिकता नदेखेकाले आजकै मितिदेखि स्वतन्त्र रहने घोषणा गर्दछु ।'

​पार्टीलाई अफ्ट्यारो परिस्थितिमा जोगाएर नेतृत्व हस्तान्तरण समेत गरेका उनी एमाले रोल्पाका एक दरिलो खम्बाका रूपमा मानिन्छन् । उनको बहिर्गमनलाई जिल्लाको स्थानीय राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ । 'उहाँ राजनीतिक रूपमा स्पष्ट वक्ता र सफल नेता हुनुहुन्छ ।' उनका साथी एवं कांग्रेसका पूर्व जिल्ला सभापति माधव आचार्यले बताए । यस्तै उनको पार्टी परित्यागको बारेमा एमाले नेतृ एवं शिक्षक संगठन रोल्पाकी पूर्व अध्यक्ष लीला आचार्यले राम्रो एवं इमानदार नेताले पार्टी परित्याग गरेको टिप्पणी गरिन्।

वलीको कार्यकालमा जनमुखी कार्य गरेको र विशेष गरी त्रिवेणी क्षेत्रमा उनको बलियो पकड रहेकाले यसले पार्टीको संगठनमा असर पर्न सक्ने आकलन गरिएको छ । पार्टी राजनीतिबाट अलग भए पनि समाज सेवाको क्षेत्रमा भने आफ्नो सक्रियता कायमै रहने वलीले स्पष्ट पारेका छन् ।

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully