फूल खेल्दै गरेका सुन्तला, मौसम, कागतीका साथै तरकारी र प्लास्टिक टनेलमा पनि क्षति पुगेको छ ।
पाल्पा — असिनापानीले पाल्पाका किसानको लाखौं मूल्यबराबरको क्षति भएको छ । सिमी, करेला, घिरौला, फर्सी, गहुँ, गोलभेँडा लगायतका तरकारीबालीमा नोक्सानी भएको हो ।
तानसेन नगरपालिका–७, काजीपौवाकी व्यावसायिक किसान सीता घिमिरेले आफ्नो ६ लाख रुपैयाँभन्दा बढीको क्षति भएको दाबी गरिन् । सेमी हाइटेक टनेल, प्लास्टिक टनेलमा समेत २ लाखभन्दा बढी क्षति पुगेको उनले बताइन् । ‘५ मिनेटको असिनापानी, हावाहुरीले सबै तरकारी बाली सखापै बनायो,’ उनले भनिन्, ‘किसानले दुःख गरेर लगायो प्रकृतिका विनासले बर्बादै बनायो ।’
तानसेन नगरपालिका–७, कै सुरज रायमाझीले पनि ३ लाख बढीको तरकारी बाली र प्लाष्टिक टनेलमा क्षति पुगेको बताए । उनको काँक्रो, सिमी, घिरौला, लसुन, प्याज मात्र होइन, प्लाष्टिक टनेल र सेमी हाइटेक टनेल पनि कामै नलाग्ने गरी च्यातिएको छ । ‘यसरी नोक्सान गर्ला भन्ने हामीलाई लागेकै थिएन,’ उनले भने, ‘सामान्य वर्षा होला भन्ठानेको पूरै असिनापानीले तरकारी बाली सखापै बनायो ।’
तानसेन नगरपालिका–६, ओडारेका बलबहादुर बिष्टले पनि तरकारीमा १ लाख बढीको क्षति भएको बताए । गोलभेंडा, बन्दा, काँक्रामा बढी क्षति भएको छ । 'ब्याड राखेर सारेका काँक्रा फल लाग्ने अवस्थामा पुगेको थियो । तर अहिले पूरै नोक्सानी भयो,' उनले भने, 'थोरै समय तर अधिक असिना परेकाले ठूलो क्षति भयो ।'
तानसेन नगरपालिका–१, बराङ्दी, अर्चले, सापाखुम लगायतका स्थानमा किसानको फूल खेल्दै गरेका सुन्तला, मौसम, कागतीमा पनि ठूलो क्षति पुगेको छ । तानसेन नगरपालिका–७, कै व्यवासायिक किसानहरु दिलबहादुर थापा, भीमबहादुर रायमाझी, तेजेन्द्र थापा, नेत्र थापा, विशाल थापा लगायतको समेत तरकारी बालीमा असिनापानीले क्षति पुगेको छ ।
तानसेन नगरपालिका–७, वडा कार्यालयबाट फोनमार्फत क्षतिको जानकारी माग गरेको उनीहरुले बताए । किसानका अनुसार स्थानीय तह, कृषि ज्ञान केन्द्र, राष्ट्रिय आधुनिकीकरण परियोजना तरकारी जोन कहीँकतैबाट असिना परेको ५ दिनसम्म पनि किसानको बारीमा पुगेर यथार्थ क्षतिको विवरण संकलन गर्न नआएको किसानको गुनासो छ ।
तानसेन नगरपालिका, रिब्दीकोट, रैनादेवी छहरा, बगनासकाली गाउँपालिकामा हावाहुरीसँगै आएको असिनापानीले भित्र्याउन तयारी अवस्थामा रहेका अन्नबालीमा समेत क्षति पुर्याएको किसानले बताएका छन् ।
असिनापानी, हावाहुरीले हिउँदे र बसन्ते बालीमा बढी क्षति पुगेको छ । कतिपय किसानको गहुँ, जौ, आलु, तरकारी, मटरकोसा, फलफूलमा क्षति पुगेको छ । कतिपय किसानको बाला लाग्ने बेलाको गहुँ, मसुरो, आलस, जौ, खन्ने बेला भएको आलु, भित्र्याउनका लागि उखेलेर राखेको तोरीलाई ठूलो नोक्सानी पुगेको किसान नेत्र थापाले बताए । केराउका कोसा बिक्री गरेर गुजारा गर्नेहरुसमेत चिन्तित भएका छन् ।
नगदे बालीमा क्षति पुगेकाले किसान ठूलो मर्कामा परेको उनले बताए । ‘हिउँदे र बसन्तेबालीबाट राम्रो आम्दानी लिइन्थ्यो,’ उनले भने, ‘अब शून्यमा झारिदिएको छ ।’
तानसेन नगरपालिका कृषि शाखा प्रमुख कल्पना पोखरेलका अनुसार तथ्यांक संकलन गर्न अझै सकिएको छैन । कतिपय किसानको तथ्यांक संकलन भइरहेको उनले बताइन् । ‘फोनमार्फत पनि सूचना संकलन भइरहेको छ,’ उनले भनिन्, ‘तर सबैको तथ्यांक लिएर सकिएको छैन ।’ कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक सुरज पाण्डेयले स्थानीय तहबाट पूर्ण विवरण आइनसकेको बताए ।
प्रारम्भिक विवरण अनुसार १ सय ४२ रोपनी क्षेत्रफलमा लगाएको तरकारी बाली नष्ट हुनुका साथै केही प्लाष्टिक टनेलमा क्षति पुगेको उनले बताए ।
