मदन भण्डारी लोकमार्गको रोल्पा–सल्यान खण्ड निर्माण धमाधम

झापाको शान्तिपुरदेखि डडेलधुराको जोगबुढासम्म पुर्‍याउने मदन भण्डारी लोकमार्गमध्ये रोल्पा–सल्यान खण्डको ५२ किलोमिटर सडकको काम तीव्र गतिमा भइरहँदा स्थानीय खुसी छन् ।

चैत्र ६, २०८२

काशीराम डाँगी

Construction of Rolpa-Salyan section of Madan Bhandari Highway in full swing

What you should know

रोल्पा — रोल्पाको माडीचौरदेखि लाप्चुन, घर्तीगाउँ, ओत, जिनाबाङ हुँदै सल्यानको बागचौरसम्मको मदन भण्डारी लोकमार्गको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ ।

रोल्पा नगरपालिकाको माडीचौरस्थित शून्य स्थानदेखि उक्त खण्डको निर्माण कार्य डेढ वर्षदेखि थालिएको हो ।झापाको शान्तिपुरदेखि डडेलधुराको जोगबुढासम्म पुर्‍याउने मदन भण्डारी लोकमार्गमध्ये रोल्पा–सल्यान खण्डको ५२ किलोमिटर सडकको काम तीव्र गतिमा भइरहँदा स्थानीय खुसी छन् । लिबाङ–दारबोट खण्डको माडीचौरदेखि घर्तीगाउँसम्मको निर्माण कार्य पनि तीव्र गतिमा भइरहेको छ । सडकको निर्माण कार्य कञ्चनपुरस्थित कुमार श्रेष्ठ निर्माण सेवा प्रालिले लिएको हो । उक्त कम्पनीसँग डेढ वर्षअघि सडक विभाग अन्तर्गत मदन भण्डारी लोकमार्ग कार्यालयले निर्माण सम्झौता गरेको थियो । 

करिब ४ अर्ब बजेटमा निर्माण सकिने उक्त सडक खण्ड आगामी डेढ वर्षभित्र कालोपत्र गरिनेछ । कम्पनीका इन्जिनियर किशोरराज पाण्डेले तोकिएको समयमै निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको बताए । कम्पनीले पहिलो चरणमा सडक फराकिलो बनाउने, नाला, देवाल बनाउने र ग्राभेल गर्ने काम गरिरहेको छ । ‘कालोपत्रको काम पनि छिटो सुरु गर्छौं त्यसका लागि सबै क्षेत्रमा तीव्र गतिका काम भइरहेको छ,’ कम्पनीका इन्जिनियर पाण्डेले भने । 

सडकको चौडाई १० मिटर छ भने ७ मिटर कालोपत्र हुने सम्झौतामा उल्लेख छ । सडक फराकिलो भएकोमा स्थानीय निकै खुसी छन् । माडी गाउँपालिकाका अध्यक्ष अमरसिंह घर्तीमगरका अनुसार सडक छिटो निर्माण गर्न र विविध खालका समस्याबारे सहजीकरण गर्न स्थानीय तहका जनप्रतिनिधिले सघाउँदै आएका छन् । सडकले रोल्पा नगरपालिकासहित माडी र गंगादेवका धेरै गाउँलाई सडक मार्गले जोड्नेछ । यी क्षेत्र आलु, स्याउ, तरकारी र फलफुल उत्पादनमा चिनिएका स्थान हुन् । सल्यानको बागचौरसम्म पुग्ने उक्त सडक खण्डले सल्यानका सुन्तला खेती र तरकारी बाली भएका गाउँहरु समेट्नेछ । सल्यानको बागचौर नगरपालिका फलफुल उत्पादनमा नाम चलेको गाउँ हो । 

सरकारले केही वर्षभित्रै मदन भण्डारी लोकमार्गको १२ सय किलोमिटर लामो सडक निर्माण गर्ने योजना अनुसार रोल्पा–सल्यान खण्डमा काम थालिएको थियो । सुरुमा उक्त लोकमार्गले रोल्पालाई नछुने भएपछि जिल्लाबासीले आन्दोलन र माग गरेका कारण सरकारले उक्त मार्गलाई रोल्पा हुँदै सल्यान पुर्‍याउने पुनःविचार गर्दै निर्णय सच्याएको थियो । प्युठानको विजुवार, चकचके, भिङ्ग्री हुँदै उक्त सडक रोल्पाको खुंग्रीदेखि घोडागाउँ, जेदबाङ र माडीखोलाको तिरैतिर माडीचौर पुर्‍याउने सरकारको पछिल्लो निर्णय छ ।  

सुर्खेतस्थित मदन भण्डारी लोकमार्ग निर्माण कार्यालयका इन्जिनियर शंकर पौडेलले रोल्पा–सल्यान खण्डमा काम तीव्र रुपमा भइरहेको बताए । सरकारले मध्य नेपालका धेरै जिल्लालाई पूर्व–पश्चिम हुँदै सडक मार्गबाट जोड्ने उद्देश्यले उक्त योजना ल्याउने निर्णय गरेको थियो ।

स्थानीयको माग र आग्रहपछि तीन वर्षअघि गुल्मीबाट प्युठान हुँदै निर्माण थालिसकेको उक्त लोकमार्गलाई रोल्पाको खुङ्ग्री (चतुर्भुज)–घोडागाउँ–माडीचौर–घर्तीगाउँ–जिनाबाङ र सल्यानको दमाचौर–खलङ्गा–कुविण्डे ताल–बालुवा संग्रही हुँदै सुर्खेत जोड्ने गरी संशोधन गरिएको थियो । त्यसअघि भने उक्त मार्ग प्यूठान–दाङ–सुर्खेत हुँदै निर्माण थाल्ने सरकारले घोषणा गरेको थियो । यसअघि नै निर्माण भइसकेका पूर्वपश्चिम राजमार्ग र मध्य पहाडी पुष्पलाल लोकमार्गले रोल्पालाई छोएको छैन । 

रोल्पालगायत विभिन्न जिल्लाबासीले ध्यानाकर्षण पत्र बुझाएपछि तत्कालीन मन्त्रिपरिषद्को बैठकले चुरे, भित्री मधेशलगायतको क्षेत्रलाई जोड्ने गरी मदन भण्डारी लोकमार्ग निर्माण गर्ने निर्णय सच्याएको थियो । त्यस योजना अनुसार उक्त सडक मार्ग झापाको शान्तिनगरबाट निर्माण सुरु गरिएको थियो ।

सुनसरीको धरान, चतरा, उदयरपुरको गाईघाट, कटारी, सिन्धुलीको सिन्धुलीमाडी, मकवानपुरको हेटौंडा, नवलपरासीको गैंडाकोट, पाल्पाको रामपुरबाट गुल्मीको रिंडी, तम्घास, शिमलटारी, प्युठानको खलंगा, रोल्पाको घोडागाउँ–माडीचौर–घर्तीगाउ–जिनाबाङ, सल्यान हुँदै सुर्खेतको बोटेचौर, बड्डीचौर, डोटीको सिमचौर, वीपीनगर, कैलालीको सहजपुर, डडेलधुराको बुडर, जोगबुढा हुँदै रुपालसम्म उक्त सडक पुग्नेछ । 

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully