तीव्र हावाहुरी र वर्षाको सम्भावना रहेकाले पालिकाले विद्यालयमा बिदा दिएको हो ।
नेपालगन्ज — हावाहुरीको पूर्वानुमानका कारण बाँकेको डुडुवा गाउँपालिकाले शुक्रबार पालिकाभित्रका सबै विद्यालयमा बिदा दिएको छ।
जल तथा मौसम विज्ञान विभागले शुक्रबारदेखि शनिबार बिहानसम्म मेघगर्जन, चट्याङसहित ठूलो हावाहुरी र वर्षाको सम्भावना रहेको सूचना जारी गरेपछि बालबालिकाको सुरक्षालाई ध्यानमा राखेर बिदा घोषणा गरिएको गाउँपालिकाका प्रमुख नरेन्द्र चौधरीले बताए । डुडुवा गाउँपालिकाले मौसम बदलिँदो भएकाले तीव्र हावाहुरी र वर्षाको सम्भावना रहेकाले सबैलाई सचेत रहन अनुरोध गर्दै सूचना सार्वजनिक गरेको छ ।
विपद् व्यवस्थापन समिति बाँकेले पनि सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न हाई अलर्ट जारी गर्दै सबैलाई सचेत रहन अनुरोध गरेको छ।
यसैगरी, कोहलपुर नगरपालिकाले पनि सावधानी अपनाउन आग्रह गर्दै सूचना जारी गरेको छ। नगर प्रहरी प्रमुख वीरबहादुर थापाले हावाहुरी चलेका बेला कमजोर संरचना, अग्ला रुख, टेलिफोन तथा बिजुलीको खम्बा र तारमुनि नबस्न, बिजुलीको तार लत्रिएको छ भने नछुन, विद्युतीय उपकरण नचलाउन र जोखिमयुक्त स्थानमा नबस्न सबै नगरबासीलाई आग्रह गरेका छन्।
