प्रमुख जिल्ला अधिकारी विनु कुँवर बज्राचार्यले वन डढेलो लाग्नै दिन नहुने र लागिहाले पनि कसले लगाएको हो भन्ने पहिचान गरेर कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिइन् ।
What you should know
पाल्पा — सुख्यायाम सुरु भएसँगै वन डढेलोबाट हुने क्षति कम गर्न डिभिजन वन कार्यालय पाल्पाले तानसेनको श्रीनगर डाँडा जंगलमा बुधबार वन डढेलो व्यवस्थापन डेमो प्रदर्शनी गरेको छ ।
डढेलो नियन्त्रणका लागि पूर्वतयारी स्वरूप ज्वलनशील पदार्थको व्यवस्थापन गर्न सुरक्षाकर्मी, कर्मचारी, उपभोक्ता समूहलाई सिकाउनका लागि डेमो प्रदर्शनी गरिएको हो । मानवबस्ती नजिकका सामुदायिक वनसँगको सहकार्यमा ज्वलनशील पदार्थ एकीकृत गरेर नियन्त्रित डढेलो लगाएर ठूला र जोखिमयुक्त डढेलो लाग्नबाट जोगाउन डेमो प्रदर्शनी गरिएको सिनियर डिभिजन वन प्रमुख मोहनप्रसाद श्रेष्ठले बताए ।
वन डढेलो सप्ताहअन्तर्गत मानव बस्ती र अन्य भौतिक संरचनाका नजिक डढेलोबाट सुरक्षित गर्न डेमोबाट धेरै सिकाइ हुने उनले बताए । कार्यक्रममा सेना, प्रहरी, सशस्त्र प्रहरी बल, कर्मचारी र स्थानीय उपभोक्ता मिलेर अग्निरेखा बनाएर नियन्त्रित डढेलो लगाइएको हो ।
डिभिजन वन प्रमुख श्रेष्ठले वन क्षेत्रमा रहेका पातपतिंगरको व्यवस्था, सतर्कता अपनाउन पहल गर्नुपर्ने साथै अहिलेको जिल्लाको अवस्थाबारे जानकारी गराए । प्रमुख जिल्ला अधिकारी विनु कुँवर बज्राचार्यले वन डढेलो लाग्नै दिन नहुने र लागिहाले पनि कसले लगाएको हो भन्ने पहिचान गरेर कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिइन् । उनले सुख्खा मौसम सुरु भएको र वन डढेलोको जोखिम उत्तिकै रहेको बताइन् ।
डढेलो तथा आगलागी नियन्त्रणमा सुरक्षाकर्मी परिचालनका लागि व्यवस्था मिलाउने पाल्पाका प्रहरी उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले बताए । जिल्लाका सब–डिभिजन, प्रहरी चौकीहरू, सामुदायिक वन उपभोक्ता समूहहरूलाई परिचालन गरेर पूर्वतयारी गर्नुपर्ने उनले बताए । प्रहरीले डढेलो लगाउनेहरूको खोजी गर्ने भएकाले सचेत रहनसमेत उनले आग्रह गरे ।
वडाध्यक्ष रामबहादुर रावले डढेलो नियन्त्रणमा खटिने प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका प्रतिनिधि, सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारी तथा सदस्यहरूलाई सचेत गराउन डेमो प्रभावकारी हुने बताए । अर्का वडाध्यक्ष बाबुरत्न शाक्यले बस्ती नजिकका सामुदायिक वनका सदस्यहरू पनि सचेत रहनुपर्ने र डढेलो लाग्दा तत्काल सरोकारवाला निकायमा खबर गर्नुपर्नेमा जोड दिए ।
विगतमा देखिएका त्रुटि सच्याएर अघि बढ्नुपर्ने, उपभोक्ता समिति, सब डिभिजन, प्रहरीका चौकी तथा ग्रामीण भेगमा रहेका सुरक्षा संयन्त्रलाई बेलैमा परिचालन गर्नुपर्नेमा सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनीकी अध्यक्ष कल्पना भण्डारीले बताइन् ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी खिलबहादुर तामाङले सुरक्षा निकायका साथै सरोकारवाला निकायको सुझावका आधारमा वन डढेलो नियन्त्रण प्रभावकारी ढंगले संचालन गर्ने बताए । कार्यक्रममा डढेलो नियन्त्रणका लागि आवश्यक सामग्रीको डिभिजन वन कार्यालय र सशस्त्र प्रहरी बल पाल्पाबाट प्रदर्शनीसमेत गरियो ।
