मालपोत कार्यालयमा 'नागरिक सहायता कक्ष' उद्घाटन

बाँके-२ का निर्वाचित प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राईले सेवा केन्द्र स्थापनामा सहयोग गर्ने लुम्बिनी प्रदेश सरकार र नेपालगन्ज उपमहानगरपालिकालाई धन्यवाद दिए ।

चैत्र ३, २०८२

रुपा गहतराज

'Citizen Help Desk' inaugurated at Land Revenue Office

What you should know

नेपालगञ्ज — जग्गाधनी प्रमाण पुर्जाको स्रेस्ता कायम गर्नका लागि मालपोत तथा भूमिसुधार कार्यालय नेपालगञ्ज बाँकेमा नागरिक सहायता कक्षको सुरुवात भएको छ । 

बाँके-२ का निर्वाचित प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राईले निर्वाचनमा गरेको वाचा पूरा गर्दै मंगलबार भूमि सुधार तथा मालपोत  कार्यालयमा 'नागरिक सहायता कक्ष'को उद्घाटन गरेका हुन् ।

निर्वाचन प्रचारप्रसारका क्रममा राईले 'निर्वाचन जितेको १५ दिनभित्र सेवा केन्द्र स्थापना गर्ने' घोषणा गरेका थिए ।  निर्वाचन जितेको १० दिनमै सेवा केन्द्र सुरु भएको हो । सेवा केन्द्र उद्घाटन गर्दै राईले भने, 'कागजात जलेका कारण स्रेस्ता कायम गर्न नागरिकले पैसा खर्च गर्नु परेको र निकै दु:ख झेल्नुपरेको कुरा सुनाउनु भएको थियो । त्यही दु:ख देखेर मैले सेवा केन्द्रको वाचा गरेको थिएँ ।'

सेवा केन्द्र संचालन भएकामा खुसी व्यक्त गर्दै सांसद राईले 'आर्थिक अवस्था कमजोर भएका नागरिकलाई राहत हुने' बताउँदै  भने, 'यहाँ सबैले सेवा लिन पाउनु हुन्छ तर जसले लेखापढीमा आर्थिक जोहो गर्न सक्नुहुन्न, उहाँहरूले बढीभन्दा बढी सेवा उपभोग गर्नुहोला !'  राईले सेवा केन्द्र स्थापनामा सहयोग गर्ने लुम्बिनी प्रदेश सरकार र नेपालगन्ज  उपमहानगरपालिकालाई  धन्यवाद  दिए ।

सेवा केन्द्र उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवाल, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट सहभागी थिए ।  उनीहरूले सांसद राईको पहलमा सेवा केन्द्र स्थापना भएको भन्दै आगामी दिनमा नागरिकको सेवासुविधाका लागि मालपोत कार्यालयलाई थप सहयोग गर्ने प्रतिबद्धता जनाए । भूमि सुधार तथा मालपोत  कार्यालय बाँकेका प्रमुख सविन चौधरीले सेवा केन्द्र  स्थापनाले लेखापढीसम्बन्धी काममा नागरिकलाई सहायता पुग्ने बताए ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully