तिनाउ गाउँपालिका, प्रदेश र संघीय सरकारको संयुक्त लगानीमा प्राकृतिक विपद्का कारण थातथलो गुमाएका परिवारलाई नयाँ आवास हस्तान्तरण गरिएको हो ।
What you should know
पाल्पा — तिनाउ गाउँपालिका–४ सत्यवती बौरीडाँडाका ६ विपन्न परिवारलाई नवनिर्मित घर हस्तान्तरण गरिएको छ । तिनाउ गाउँपालिका, प्रदेश र संघीय सरकारको संयुक्त लगानीमा प्राकृतिक विपद्का कारण थातथलो गुमाएका परिवारलाई नयाँ आवास हस्तान्तरण गरिएको हो ।
बाढी र पहिरोले घरमा बस्नै नमिल्ने गरी क्षति भएपछि विस्थापित भएका पविसरा आले, हुमबहादुर गाहा, तुलबहादुर गाहा, यामबहादुर दर्लामी, यानीसरा गाहा र कोपिलासरा रानाले बस्नका लागि नयाँ घर पाएका हुन्। जिल्ला विपद् व्यवस्थापन कोषबाट प्राप्त रकम र तिनाउ गाउँपालिकामार्फत प्रतिपरिवार ४ लाख रुपैयाँ अनुदान उपलब्ध गराइएको हो ।
४ लाख अनुदान पाए पनि अपुग रकम घरधनीले नै लगानी गरेका छन् । ‘अनुदान रकमबाहेक थप आवश्यक रकम र श्रमदान हाम्रो आफ्नै छ,’ स्थानीय तुलबहादुर गाहाले भने, ‘सरकारले बाटो देखाइदिएपछि सामर्थ्य अनुसारको सुरक्षित घर बनाएका छौं ।’
घर हस्तान्तरण गर्दा प्रहरी मुचुल्का, वडा कार्यालयको स्थलगत सिफारिस र वास्तविक विपन्नताको मापदण्डका आधारमा लाभग्राही छनौट गरेको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताए ।
चालु आर्थिक वर्षमा थप ३ जना अति विपन्न परिवारको घर निर्माणका लागि सिफारिस भइसकेको गाउँपालिका उपाध्यक्ष लालबहादुर थापाले बताए । तिनाउ गाउँपालिकामा मात्र होइन जिल्लाका तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका, निस्दी गाउँपालिका, रिब्दीकोट गाउँपालिका, पूर्वखोला गाउँपालिकाका कुल ४२ लाभग्राहीले पनि निजी आवास पुनर्निमाण वापतको रकम पाएका छन् ।
निजी आवास पुननिर्माणका लागि बगनासकाली गाउँपालिकामा मेनका पाण्डेय, निस्दी गाउँपालिकामा खिमौती पल्ली, हरीसरा सोती, बरीसरा विक, गोपीसरा कामी, थनवीर सोती, खगीसरा सोती, पवी थापा, धनबहादुर सोती, ठगबहादुर सोती, बेगबहादुर पल्लीले सहयोग पाएका छन् । सोही अनुसार निर्माण कार्य भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यसैगरी रिब्दीकोट गाउँपालिकामा गणेश सुनार, तानसेन नगरपालिकाका मानबहादुर बौडेल, सरोज दमै, टकबहादुर दमै, सविता नेपाली, विनु परियार, राजेन्द्र विश्वकर्मा, यमनसिंह बोहोरा, मधुमाया घर्ती, बिर्खबहादुर राना, अनबहादुर थापा, विष्णु विश्वकर्मा, बद्रीप्रसाद भट्टराई, अनिसरा/बुद्धिमान विश्वकर्मा, रामबहादुर रानाभाट, लक्ष्मी कुमारी रानाले पनि सहयोग पाएका छन् ।
त्यस्तै पूर्वखोला गाउँपालिकाका टोपबहादुर श्रेष्ठ, जगीसरा सारु, दुर्गबहादुर विश्वकर्मा, डिल्लीराज ढकाल, टेकबहादुर ठाडा, पहलसिं सारु, टेमनसिंह सारु, अशोक विश्वकर्मा र भीमबहादुर राना मगरले पनि निजी आवासी पुनर्निर्माणका लागि सहयोग पाएका छन् ।
लाभग्राहीले ६० प्रतिशत संघीय सरकार, ३० प्रतिशत लुम्बिनी प्रदेश सरकार र स्थानीय सरकारको २० प्रतिशत साझेदारीबाट कुल ४ लाख पाउने जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले बताए ।
उनका अनुसार संघ, प्रदेश र स्थानीय तहको क्रमशः ६० प्रतिशत, ३० प्रतिशत र २० प्रतिशत बजेट साझेदारी गरेर एकमुष्ट कोषमा जम्मा गरिन्छ । संघ, प्रदेश र स्थानीय तहको बजेट जिल्ला विपद् व्यवस्थापन कोषमा प्राप्त भएपछि मात्र भुक्तानी गरिने उनले बताए ।
अन्य निकायसँग जिल्ला प्रशासन कार्यालयले बजेट माग गर्ने र एकमुष्ट प्राप्त भएपछि सम्बन्धित स्थानीय विपद् व्यवस्थापन कोष (स्थानीय तह) मा प्रतिवेदनका आधारमा भुक्तानीका लागि पठाउने गरिन्छ । पहिलो किस्ता ५० हजार, दोस्रोमा २ लाख र तेस्रोमा १ लाख ५० हजार रुपैयाँको दरले स्थानीय तहको प्राविधिक रिपोर्ट र सिफारिस तथा राष्टिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण विपद् पोर्टलमा प्रविष्टिका आधारमा लाभग्राही पहिचान गरी सोही आधारमा भुक्तानी गरिने सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए ।
स्थानीय विपद् व्यवस्थापन समितिले सूचना प्रणालीमा प्रविष्ट गर्ने गरी सूचना संकलन प्रणालीमार्फत् संकलन गरिएको लगत र सो बमोजिमको क्षति विश्लेषण, विपद्का घटनाबाट क्षति भएको निजी आवासबाहेक सोही स्थान वा अन्यत्र बसोवास योग्य अर्को निजी आवास नभएका व्यक्ति तथा परिवारलाई यो सुविधा उपलब्ध हुने व्यवस्था विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निमाण तथा पुनस्थापन अनुदान कार्यविधि २०८१ मा उल्लेख छ ।
विपदबाट क्षतिग्रस्त वा जोखिममा रहेका निजी आवासलाई सुरक्षित तरिकाले प्रबलिकरण, पुनर्निमाण र पुनर्स्थापनाका लागि प्रदान गरिने अनुदानलाई व्यवस्थित गर्न यो कार्यविधि ल्याइएको हो ।
