स्तरोन्नतिका लागि रुद्रवेणी-वामीटक्सार-खर्वाङ सडकको सिस्ने भीरमा चैत १ देखि ३० गतेसम्म पूर्ण रुपमा यातायात बन्द हुनेछ ।
गुल्मी — चैत महिनाभर रिडी-वामी खण्डको सिस्नेभीरमा सडक बन्द हुने भएको छ । यो खण्ड बुटवल-वुर्तिवाङ्ग सडक अन्तर्गतको खण्ड हो ।
चैत महिनाभर चौबिसै घण्टा राजमार्ग बन्द गरी निर्वाध रुपमा स्तरोन्नतिको कार्य गर्नुपर्ने भएकोले सो सडक खण्डबाट चल्ने सवारी साधन पूर्णरुपमा राेक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए ।
उनले रुद्रवेणी-वामीटक्सार-खर्वाङ सडकको सिस्ने भीरमा सडक बन्द हुने बताए । चैत १ देखि ३० गतेसम्म सडक निर्माणका लागि पूर्ण रुपमा बन्द हुनेछ ।
त्यतिबेला दुई वटा वैकल्पिक सडक प्रयोग गर्न सकिनेछ । पहिलो सोता-तल्लोरोड-रुपाकोट-दोकुवा-सालघारी-चोरकाटे र दोस्रो मजुवा-दम्का-रुपाकोट-म्यालपोखरी-चोरकाटे सडक रहने सहायक प्रमुख जिल्ला अधिकारी गैरेले बताए ।
रुद्रवेणी-वामीटक्सार सडकखण्डकाे उक्त खण्ड अप्ठ्यारो र साँघुरो छ । जसलाई फराकिलो बनाउन र भीर कटानका लागि सडक बन्द गरिएको हो ।
