धार्मिक, सांस्कृतिक र खेल पर्यटन प्रवर्द्धन प्राथमिकता: मुख्यमन्त्री आचार्य

मुख्यमन्त्री आचार्यले धार्मिक, सांस्कृतिक तथा खेल पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार विकाससँगै सामाजिक विकासलाई पनि प्राथमिकतामा राखिएको बताए ।

फाल्गुन २९, २०८२

दुर्गालाल केसी

Promotion of religious, cultural and sports tourism a priority: Chief Minister Acharya

दाङ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन धार्मिक, सांस्कृतिक तथा खेल पर्यटनलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले योजना निर्माण गरिरहेको बताएका छन् ।

राप्ती गाउँपालिकाको नवौँ स्थापना दिवसका अवसरमा शुक्रबार देविकोटमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले धार्मिक, सांस्कृतिक तथा खेल पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार विकाससँगै सामाजिक विकासलाई पनि प्राथमिकतामा राखिएको बताए ।

उनले देवीकोट क्षेत्रको धार्मिक तथा ऐतिहासिक महत्व उल्लेख गर्दै यहाँ पर्यटक आवागमन बढाउन आवश्यक पूर्वाधार विकासमा प्रदेश सरकारले ध्यान दिने बताए । ‘यो ठाउँको महिमा धेरै छ । स्वस्थानी व्रतकथामा आधारित यो स्थान पवित्र भूमि हो । यहाँ पर्यटकहरूको आवागमन बढाउन सकिन्छ,’ उनले भने–‘प्रदेश सरकारले यहाँसम्म आउने सडकलाई सधैं सञ्चालनयोग्य बनाउन बहुवर्षीय योजनामा राखेर काम गर्दैछ । मन्दिरको जीर्णोद्धार र संरक्षणमा पनि विशेष ध्यान दिइनेछ ।’

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले कार्यशैली परिवर्तन गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाइने बताए । उनले कार्यसम्पादनका आधारमा राप्ती गाउँपालिका देश तथा जिल्लामै उत्कृष्ट रहेको उल्लेख गर्दै उक्त उपलब्धिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले खेललाई पर्यटनसँग जोडेर प्रदेश सरकारले कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले युवाहरूको चाहनाअनुसार खेल पूर्वाधार निर्माण, खेल सामग्री व्यवस्थापन तथा दक्ष खेलाडी उत्पादनका लागि प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिइएको जानकारी दिए। कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य इन्द्रजीत थारुले प्रदेश सरकार गठनपछि दुर्गम बस्तीहरूमा आधारभूत विकासका पूर्वाधार विस्तार भएको बताए ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully