ग्यास लिएर जाने उपभोक्ताको विवरण राख्ने र एउटा परिवारलाई एक पटकमा एउटा मात्र सिलिण्डर लैजान अनुरोध गर्न ग्यास विक्रेतालाई निर्देशन दिइएको छ ।
नवलपरासी — पश्चिम नवलपरासीमा खाना पकाउने ग्यासको कृत्रिम अभाव हुन नदिन जिल्ला अनुगमन समितिले बजार तथा उद्योगको अनुगमन गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयलगायत सरोकारवालाले जिल्ला सदरमुकाम परासीमा गरिएको अनुगमनमा उपभोक्ताले आवश्यकता भन्दा बढी ग्यास माग गर्ने, अभाव हुने डरले एकै पटक धेरै सिलिण्डर लैजाने गरेको पाइएको छ ।
ग्यास लिएर जाने उपभोक्ताको विवरण राख्ने र एउटा परिवारलाई एक पटकमा एउटा मात्र सिलिण्डर लैजान अनुरोध गर्न प्रशासनले ग्यास विक्रेतालाई निर्देशन दिएको छ ।
अनुगमन समितिले डिपोसँगै जिल्लामा रहेको आरती र चण्डेश्वरी ग्यास उद्योगमा पनि अनुगमन गरेको थियो । अनुगमनका क्रममा डिपो र उद्योगमा नियमितरुपमा ग्यासको आपुर्ती भइरहेको घरेलु तथा साना उद्योग कार्यालय परासीका प्रमुख मोहन पाण्डेले बताए ।
‘हामीले अनुगमनका क्रममा डिपो र उद्योगमा ग्यास आपुर्तीमा समस्या भेटेनौं,’ उनले भने, ‘उपभोक्ता स्तरबाट नै स्टक राख्नका लागि बढी माग भएको भेटिएको छ । उपभोक्ताले आफुलाई आवश्यकता भन्दा बढी सिलिण्डर खरिद नगर्न आग्रह गर्दछाैं ।’
