रोल्पामा १० मध्ये पाँच उम्मेदवारको धरौटी जफत

रोल्पामा पाँच उम्मेदवारले १ हजारभन्दा कम मत प्राप्त गरे । तिनीहरू पाँचै जनाको धरौटी जफत भएको हो ।

फाल्गुन २८, २०८२

काशीराम डाँगी

Deposits of five out of 10 candidates in Rolpa confiscated

रोल्पा —  

गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि रोल्पाबाट उम्मेदवार बनेका १० जनामध्ये पाँच जना उम्मेदवारको धरौटी जफत भएको छ।

निर्वाचन कानुनअनुसार खसेको सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको धरौटी (जमानत) जफत हुने व्यवस्था भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

धरौटी जफत हुने उम्मेदवारहरूमा राप्रपाका अम्मरबहादुर थापा क्षेत्री, मंगोल नेसनल अर्गनाइजेसनका कुमार घर्ती मगर, राष्ट्रिय जनमोर्चाका मेखबहादुर विष्ट, नेसनल रिपब्लिक नेपालका मनबहादुर घर्ती मगर र आम जनता पार्टीका दिलबहादुर कामी छन्।  उनीहरू सबैले १ हजारभन्दा कम मत प्राप्त गरेका हुन्।

निर्वाचन परिणामअनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार वर्षमान पुन २७ हजार ४ सय ६० मतसहित विजयी भएका थिए। पुनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा सुदनकुमार वलीले १२ हजार ८ मत प्राप्त गरे । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका बालराम थापाले १० हजार ८ सय ९४ मत र एमालेका गोकुलप्रसाद घर्तीले ९ हजार ९ सय ३३ मत प्राप्त गरेका थिए। यसैगरी नेकपा (माओवादी ) का उम्मेदवार चुडामणि वलीले ३ हजार ७ सय १४ मत प्राप्त गरे।

निर्वाचन कानुनअनुसार प्रतिनिधिसभा सदस्यका उम्मेदवारले उम्मेदवारी दर्ता गर्दा धरौटीस्वरूप रकम बुझाउनुपर्ने व्यवस्था छ। खसेको सदर मतको १० प्रतिशतभन्दा कम प्राप्त गरेमा उक्त धरौटी रकम जफत हुने प्रावधान छ। यहाँ सदर मतको १० प्रतिशत पुर्‍याउन नसकेका कारण पाँच जना उम्मेदवारको धरौटी जफत भएको हो।

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully