पाल्पामा पूर्वमन्त्रीसहित २३ उम्मेदवारको जमानत जफत

यस चुनावमा पाल्पाका अधिकांश उम्मेदवारले न्यून मत ल्याएर जमानत जोगाउन सकेनन्, जसमा पूर्वमन्त्री समेत परेका छन्।

फाल्गुन २७, २०८२

माधव अर्याल

Deposits of 23 candidates, including former minister, confiscated in Palpa

पाल्पा — पाल्पामा पूर्वमन्त्रीसहित २३ जनाको जमानत (धरौटी) जफत भएको छ । क्षेत्र १ मा १३ र क्षेत्र २ मा १६ गरी २९ उम्मेदवार रहेका थिए । क्षेत्र १ मा १३ उम्मेदवारमध्ये तीन जनाले मात्र जमानत जोगाए ।

नेपाली कांग्रेसका उम्मेदवार सन्दीप राना विजयी भएको यस क्षेत्रमा एमालेका उम्मेदवार नारायणप्रसाद आचार्य र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विमल पन्तले मात्रै जमानत जोगाए । यहाँ ९ दल र चार स्वतन्त्र उम्मेदवार थिए । नेपाली कम्युनिस्ट पार्टीका हुमबहादुर सुनारी, नेसनल रिपब्लिक नेपालका थमनसिंह रेश्मी, राष्ट्रिय प्रजातन्त्र पार्टीका बृहस्पति अर्याल, राष्ट्रिय जनमोर्चाकी नरमति सिंजाली, मंगोल नेसनल अर्गनाइजेसनका सलन चिदी मगर, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का पुरन गैरे शर्माको जमानत जफत भएको छ ।

स्वतन्त्र रूपमा उम्मेदवार दिएका कोशल अर्याल, डिल्लीराज काफ्ले, बुद्धबहादुर विरकट्टा र बाछा दली मियाले पनि जमानत जोगाउन नसकेको निर्वाचन कार्यालयले जनाएको छ । क्षेत्र १ मा कुल ९८ हजार ३ सय ८३ मतदाता रहेकामा प्रत्यक्षतर्फ ५४ हजार २ सय १६ मत खसेको थियो । जसमा ५१ हजार ८ सय २४ मत सदर भएको थियो ।

क्षेत्र २ मा पनि तीन जना उम्मेदवारले मात्र जमानत जोगाएका छन् । १६ उम्मेदवार रहेको यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. माधवबहादुर थापाले विजय हासिल गरेका हुन् । नेपाली कांग्रेसका उम्मेदवार हिमालदत्त श्रेष्ठ र नेकपा एमालेका उम्मेदवार ठाकुरप्रसाद गैरेले मात्रै जमानत जोगाए । नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका पूर्वमन्त्री सोमप्रसाद पाण्डेयसहित १३ उम्मेदवारहरूको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाले जनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का जिल्ला अध्यक्ष तथा पुराना नेता डुलबहादुर कुँवर, राष्ट्रिय जनमोर्चाका बालबहादुर दर्लामी (विशाल), नेसनल रिपब्लिक नेपालका देवप्रसाद श्रेष्ठ, राष्ट्रिय जनमुक्ति पार्टीका टोपबहादुर अस्लामी, जनता समाजवादी पार्टी (एकल चुनाव चिन्ह) का खिकबहादुर रेश्मीले जमानत जोगाउन सकेनन् ।

मंगोल नेसनल अर्गनाइजेसनका मानबहादुर दर्लामी, नेपाल मजदुर किसान पार्टीका कृष्णशोभा मुस्याख्वा, सार्वभौम नागरिक पार्टीका रामबहादुर अस्लामी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का विष्णु ठडराई (सार्की), प्रगतिशील लोकतान्त्रिक पार्टीका बोधराज जैसीले जमानत जोगाएनन् ।

स्वतन्त्र उम्मेदवारी दिएका मोहन कुँवर थापा मगर, केशवप्रसाद बस्यालले पनि जमानत जफत गराए । क्षेत्र नम्बर २ मा १ लाख ९ हजार ५३ मतदाता रहेकामा प्रत्यक्षमा ६० हजार ५ सय ४६ मत खसेको थियो । त्यसमा ५८ हजार १ सय ४० मत सदर भएको थियो ।

उम्मेदवारहरूले गत माघ ६ गते मनोनयन दर्ताका क्रममा निर्वाचन अधिकृतको कार्यालयमा १० हजार रुपैयाँ जमानत (धरौटी) बुझाएका हुन् । जमानत बचाउन सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको जमानत रकम जफत हुने निर्वाचन कानुनी व्यवस्था छ ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully