शान्ति, एकता, स्वास्थ्य सचेतना, वातावरण संरक्षण तथा साइकल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले यो यात्रा हुन लागेको संघका उपाध्यक्ष अमनकाजी शाक्यले बताए ।
पाल्पा — शान्तिको सन्देश विश्वभर फैलाउने उद्देश्यसहित पाल्पाका तीन युवाले सोमबारदेखि महाकाली–मेची साइकल यात्रा सुरु गरेका छन् ।
पाल्पाका २५ वर्षीय शान्तम थैव, ३७ वर्षीय विज्ञान बज्राचार्य र २४ वर्षीय सुविनमान बज्राचार्यले साइकल यात्रा सुरु गरेको पाल्पा साइक्लिङ संघले जानकारी दिएको छ । सोमबारदेखि नेपालको पश्चिमी सिमाना महाकालीबाट साइकल यात्रा सुरु गरेको संघका उपाध्यक्ष अमनकाजी शाक्यले बताए । साइकल यात्रामा निस्केका तीन युवालाई संघले बिदाइ गरेको छ ।
महाकालीबाट सुरु भएको साइकल यात्रा मेची पुगेर सम्पन्न हुनेछ । ‘साइकल चलाऔं नेपालभरि, शान्तिको सन्देश संसारभरि’ भन्ने नाराका साथै साइकल यात्रा गरिएको हो । शान्ति, एकता, स्वास्थ्य सचेतना, वातावरण संरक्षण तथा साइकल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले यो यात्रा हुन लागेको संघका उपाध्यक्ष शाक्यले बताए ।
गौतमबुद्ध जन्मेको देशमा बेलाबेलामा अशान्त होइन, एकताको सन्देश फैलाउन साइकल यात्रा गरेको सहभागी बज्राचार्यले बताए । अर्कोतर्फ अस्तव्यस्त जीवनशैलीका कारण मानिस अस्वस्थ बन्दै गएकाले स्वस्थ रहने सन्देश प्रवाह गर्न साइकल यात्रा गरेको उनले बताए । शान्ति र स्वास्थ्यका लागि सबैको ध्यानाकर्षण गराउन साइकल यात्राले सहयोग पुग्नेछ । एघार दिनसम्म हुने साइकल यात्रामा ११ सय किलोमिटर दूरी तय गरिनेछ । टोलीलाई बिदाइ गर्ने क्रममा संघका अध्यक्ष रुपेश महर्जनले शान्ति र एकताको सन्देश विश्वभर फैलाउन साइकल यात्राले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
