दाङमा १० हजार भन्दा बढी मत बदर

यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा खसेको जम्मा दुई लाख ५१ हजार ३६८ मतमध्ये १० हजार ६९८ मत बदर भएको हो ।

फाल्गुन २५, २०८२

रासस

More than 10,000 votes invalidated in Dang

दाङ —  

दाङमा साढे १० हजार भन्दा बढी मत बदर भएको छ । यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा खसेको जम्मा दुई लाख ५१ हजार ३६८ मतमध्ये १० हजार ६९८ मत बदर भएको हो । 

लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार बदर प्रतिशत ४.२५ रहेको छ । जिल्लामा सबैभन्दा बढी क्षेत्र नं १ मा बदर भएको छ । जहाँ ८० हजार ४४६ मत खसेकामा चार हजार ५७ मत बदर भएको छ । 

त्यस्तै, क्षेत्र नं ३ मा ८८ हजार ६१७ मत खसेकामा तीन हजार ७७६ मत बदर भएको छ भने क्षेत्र नं २ मा ८२ हजार ३०५ मत खसेकामा दुई हजार ८६५ मत बदर भएको छ । तर, जिल्लामा विगतका भन्दा भने यो निर्वाचनमा बदर मत घटेको छ । २०७९ सालको निर्वाचनमा चार लाख १४ हजार ९५६ मत खसेकामा १४ हजार ७०९ मत बदर भएको थियो । जुन ५.९२ प्रतिशत थियो । 

विगतमा गठबन्धन दलहरूबीच निर्वाचन हुने हुँदा चुनाव चिह्नमा समस्या हुने गरेको भए पनि अहिले त्यस्तो समस्या नरहेकाले पनि बदर मत केही घटेको हुन सक्ने सूचना अधिकारी कुँवरले बताए। यद्यपि, उल्लेख्य रूपमा भने नघटेको उनको भनाइ छ । 

रासस

Link copied successfully