गुल्मेलीको रोजाइमा परे- इन्जिनियर र अधिवक्ता

गुल्मेली जनता पूर्णकालीन राजनीतिकर्मीभन्दा इन्जिनियर र अधिवक्ताप्रति आकर्षित देखिए ।

फाल्गुन २४, २०८२

गगनशिला खड्का

Gulmeli's choice - engineer and lawyer

गुल्मी — गुल्मीका मतदाताले पूर्णकालीन राजनीतिकर्मीलाई हराएर इन्जिनियर र अधिवक्तालाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित गरेका छन् । प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, चन्द्र भण्डारी र सुदर्शन बरालको साटो इन्जिनियर सागर ढकाल र अधिवक्ता गोविन्द पन्थी गुल्मेलीको रोजाइमा परेका हुन् ।

गुल्मी १ मा ढकालसँग एमालेका नेता तथा पूर्वमन्त्री प्रदीप ज्ञवाली, कांग्रेस नेता चन्द्र भण्डारी, नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री सुदर्शन बराल पराजित भए भने क्षेत्र नंं २ मा पन्थीसँग एमाले उपाध्यक्ष एवं पूर्वमन्त्री गोकर्ण विष्ट पराजित भए । 

यसपटक ढकाल विजयी भएको क्षेत्र नं १ ज्ञवाली र कांग्रेसका भण्डारीले आलोपालो चुनाव जित्दै आएको क्षेत्र हो । यहाँबाट २०५६ सालको प्रतिनिधि सभा, २०६४ को पहिलो संविधानसभा र २०७४ को प्रतिनिधि सभा निर्वाचनमा ज्ञवाली विजयी भएका थिए ।

एमालेका प्रभावशाली नेता ज्ञवाली पटक–पटक मन्त्रीसमेत बनेका थिए । त्यस्तै २०७० को दोस्रो संविधानसभा र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा भण्डारी विजयी भएका थिए । पहिला ३ निर्वाचन क्षेत्र हुँदा तत्कालीन माओवादीका तर्फबाट बराल २०६४ को संविधानसभा सदस्य निर्वाचित भएका थिए भने २०७४ मा प्रदेश सभा सदस्य निर्वाचित भएर सामाजिक विकास मन्त्री बनेका थिए । 

अहिले पुराना तीनै जनालाई हराएका ढकालले २९ हजार ६ सय ४२ मत प्राप्त गर्दा निकटम प्रतिस्पर्धी ज्ञवालीले १५ हजार १ सय ८१ मत प्राप्त गरे । उनीहरूको मतान्तर १४ हजार ४ सय ६१ छ । भण्डारीले १३ हजार ५ सय ५ र बरालले ३ हजार १ सय ७६ मत ल्याए । 

निर्वाचित ढकाल २०४८ सालमा गुल्मीको सत्यवती गाउँपालिका–६ मा जन्मिएका हुन् । २०७९ सालको निर्वाचनमा डडेल्धुरा पुगेर पूर्वप्रधानमन्त्री तथा तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रत्यक्ष प्रतिस्पर्धा गरेपछि चर्चामा आएका थिए । देउवाले २५ हजार ५ सय ३४ मत ल्याउँदा ढकालले भने १३ हजार ४२ मत ल्याएका थिए । शिक्षा, युवा सशक्तीकरण, विकास र सुशासनका विषयमा बोल्दै आएका ढकाल सन् २०१५ को अमेरिकी राजदूतावास युथ काउन्सिल मेम्बर हुन् । 

पन्थीले जितेको गुल्मी २ एमालेका गोकर्ण विष्टले २६ वर्षदेखि चुनाव जित्दै आएको क्षेत्र हो । विष्टले २०५६ को प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७० को संविधानसभा, २०७४ को निर्वाचन, २०७९ को प्रतिनिधिसभामा विजयी भएका थिए । २०६४ को संविधानसभा निर्वाचनमा भने माओवादीका चन्द्रबहादुर थापा सागरसँग पराजित भएका विष्ट चुनाव हारेर पनि ऊर्जामन्त्री बनेका थिए । यस क्षेत्रमा रास्वपा, एमाले र कांग्रेसको निकै कडा प्रतिस्पर्धाका बीच पन्थीले जित निकाले । 

विष्टलाई पराजित गरेका पन्थी नेपाल प्रहरीको डीएसपी पदबाट अवकाश प्राप्त हुन् । गुल्मीको मदाने–७ भनभनेमा २०३१ सालमा जन्मिएका पन्थीले प्रहरीबाट अवकाशपछि अधिवक्ताका रुपमा काम गर्दै आएका थिए ।  प्रहरी सेवामा रहँदा पन्थीले भिजिट भिसा र मानव तस्करीबारे अनुसन्धान गरेका थिए ।

पन्थीले विष्टलाई ५ सय ६१ मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचित भए । पन्थीले १६ हजार ९ सय ६७ मत ल्याउँदा विष्टले १६ हजार ४ सय ६ मत ल्याएका छन् भने नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठले १४ हजार ४ सय ३४  मत पाए । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार श्रीराम महतले ३ हजार ७८ मत मात्र पाएका छन् ।

गगनशिला खड्का कान्तिपुरकी गुल्मी संवाददाता हुन् ।

Link copied successfully