प्रदेशसभामा निर्वाचित भएपछि आफ्नो क्षेत्रका बासिन्दाका लागि आवश्यक काम गर्न नपाएको गुनासो गर्दै आएका थिए । आफ्नो निर्वाचन क्षेत्र विकासका लागि मुलुकको प्रणालीमा सुधार आवश्यक रहेको जनाउँदै मनोनयनको मुखैमा प्रदेशसभा सदस्य पदबाट राजीनामा गरेर बनिया रास्वपाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका थिए ।
भैरहवा — रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कन्हैयाँ बनिया विजयी भएका छन् । सुरुवाती मत गणनामा पछाडि रहेका बनियाले अन्तिम चरणमा ‘कम ब्याक’ गर्दै जित हासिल गरेका हुन् । उनले २८ हजार ६६ मत प्राप्त गरेका छन् ।
सुरुवाती चरणमा अग्रता कायम गरेका एमाले उम्मेदवार प्रमोद कुमार यादवले २० हजार २ सय ६२ मत प्राप्त गरे । त्यसैगरि नेपाली कांग्रेसका आशुतोष मिश्राले १५ हजार ६ स १३ मत पाए । २०७९ मा तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टीबाट विजयी सर्बेन्द्र शुक्लाले ३ हजार ४ सय १० मतमा चित्त बुझाए । शुक्ला यसपटक जसपा (नेपाल) बाट प्रत्याशी थिए । मिश्रा पहिलोपटक कांग्रेसबाट उम्मेदवार बनेका थिए ।
सिमावर्ती मर्चवारीमाई गाउँपालिकाको रायपुरमा जन्मिएका ३६ वर्षीय बनिया २०७९ को प्रदेशसभा सदस्य निर्वाचनमा तत्कालीन लोकतान्त्रिक समाजबादी पार्टीबाट रुपन्देही ४ (१) बाट बिजयी भएका थिए । प्रदेशसभामा निर्वाचित भएपछि आफ्नो क्षेत्रका बासिन्दाका लागि आवश्यक काम गर्न नपाएको गुनासो गर्दै आएका थिए । आफ्नो निर्वाचन क्षेत्र विकासका लागि मुलुकको प्रणालीमा सुधार आवश्यक रहेको जनाउँदै मनोनयनको मुखैमा प्रदेशसभा सदस्य पदबाट राजीनामा गरेर बनिया रास्वपाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका थिए ।
स्नाकोत्तर अध्ययन गरेका बनिया राजनीतिमा प्रवेश गर्नुअघि व्यवसायमा संलग्न थिए । मर्चवारीमाईको रायपुरमा उनको अहिले पनि पेट्रोलियम लगायत व्यापार छ । रुपन्देहीमा सिमावर्ती जिल्लामा बसोबास रहेकाले त्यहाँका बासिन्दाका समस्या बोकेर समाधानका लागि सदरमुकाम भैरहवास्थित सरकारी कार्यालय, प्रहरी र प्रशासनमा सहजीकरण गर्दै आएका थिए ।
जनताको समस्या सामाधान गर्दागर्दै उनी राजनीतिमा प्रवेश गरेको उनका निकट साथी प्रशान्त गुप्ताले बताए । रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेपछि बनियाले पनि सुधारका लागि शाहलाई प्रधानमन्त्री बनाउन आफूलाई मतदानका लागि आग्रह गरेका थिए । रुपन्देहीका ५ मध्ये चारवटा क्षेत्रमा सुरुवातदेखि रास्वपाका उम्मेदवारले अग्रता कायम गरेका थिए । रुपन्देही ४ मा शुक्रबार अपरान्हसम्म एमाले उम्मेदवार यादवले अग्रता हाँसिल गरेका थिए । कांग्रेसबाट टिकट नपाएपछि यादवले मनोनयनकै दिन एमाले रोजेका थिए ।
दिनरात नभनेर गरेको कठिन परिश्रमबाट सफलता मिलेको बनियाले प्रतिक्रिया थिए । ‘रुपन्देही–४ अन्य क्षेत्र जस्तो सहज थिएन,’उनले भने, ‘पहिलोपटकमै ठूलो सफलता मिलेको छ । यसबाट म अत्यधिक खुसी छु । मर्चवार क्षेत्रमा परिवर्तन ल्याउने मेरो धोको पूरा गरेरै छाड्छु ।’
