रास्वपा एक क्षेत्रमा विजयी भएकाे छ भने चार क्षेत्रमा फराकिलो मतान्तरसहित अगाडि रहेकाे छ।
बुटवल — पाँच निर्वाचन क्षेत्र रहेको रूपन्देहीका सबै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले जित सुनिश्चित गरेको छ । क्षेत्र नं. ४ मा रास्वपाका कन्हैया बानियाँ विजयी भईसकेका छन् । बाँकी चारवटा क्षेत्रमा पनि रास्वपा फराकिलो अन्तरसहित विजयीउन्मुख देखिएका छन् ।
९७ हजार २ सय ११ मत खसेको रूपन्देही– १ मा अहिलेसम्म झण्डै ४५ हजार मत गणना सकिएको छ । जारी मतगणनामा रास्वपाका सुनिल लम्सालले २३ हजार ७ सय ७७ मतसहित अगाडि छन् ।
उनलाई राप्रपाका प्रज्वल बोहोराले पछ्याईरहे पनि १८ हजार ९ सय ९५ को मतान्तर रहेको छ। तेस्रोमा रहेका नेपाली कांग्रेसका हिराबहादुर केसीले ५ हजार ५५ मत मात्र ल्याएका छन् ।
त्यस्तै रूपन्देही–२ मा रास्वपाकै सुलभ खरेल ३८ हजार ९९२ मतान्तरसहित अगाडि छन् । उनले खसेको ८६ हजार ७ सय १५ मत मध्ये ७१ हजार ८ मत गणना हुँदा ५० हजार १४४ मत ल्याएका छन् ।
एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले ११ हजार १५२ र कांग्रेसका चुन्नप्रसाद पौडेलले ८ हजार १७ मत मात्र ल्याएका छन्। क्षेत्र नं. ३ मा रास्वपाकै डा. लेखजंग थापाले खसेको ९७ हजार ३८७ मध्ये ५३ हजार ८२२ मत प्राप्त गरी ३८ हजार ९९२ मतान्तरसहित अगाडि छन् ।
उनलाई कांग्रेसका सुशिल गुरुङले ७ हजार ३८६ मत ल्याएर पछ्याइरहेका छन्। एमालेका बासुदेव घिमिरेले ७ हजार १७४ मत प्राप्त गरेका छन्।
क्षेत्र नं. ४ मा रास्वपाकै कन्हैया बानियाँ २८ हजार ६६ मत प्राप्त गर्दै विजयी भएका छन् । उनले एमालेका प्रमोदकुमार यादवलाई ७ हजार ८०४ मतान्तरमा पराजित गरेका हुन् ।
यादवले २० हजार २६२ र कांग्रेसका आशुतोष मिश्रले १५ हजार ६१३ मत प्राप्त गरेका थिए । क्षेत्र नं. ५ मा पनि रास्वपाका तौफिक अहमद खान बिजयी उन्मुख छन् ।
खसेको ८४ हजार ८३८ मत मध्ये झण्डै ५० हजार गणना हुँदा १५ हजार ४४६ मतान्तरसहित अगाडि छन् । खानले २३ हजार ११२ मत प्राप्त गर्दा एमालेका खिमलाल भट्टराईले ७ हजार ६६६ र कांग्रेसका भरत शाहले ७ हजार ५८४ मत मात्र प्राप्त गरेका छन् ।
