रोल्पामा केहीबेरमा मतगणना सुरू हुने

दलका प्रतिनिधि सर्वदलीय बैठकमा व्यस्त, मतगणनास्थल सुरक्षित बनाइयो

फाल्गुन २२, २०८२

काशीराम डाँगी

Counting of votes to begin shortly in Rolpa

रोल्पा — मतगणना थाल्नुअघि रोल्पाका राजनीतिक दलका प्रतिनिधिहरु सर्वदलीय बैठकमा सहभागी भएका छन् । प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षत्रीले बिहान १० बजेदेखि बैठक सुरू भएको र त्यसपछि मतगणना थाल्ने तयारी भएको बताए ।  

बिहीबार सकिएको मतदानपछि टाढा रहेका मतदान केन्द्रबाट मतपेटिकाहरू समयमै सदरमुकाम लिबाङमा ल्याउन बढी समय लागेकाले मतगणना ढिलो सुरू हुने भएको हो । मतपेटिका बिहीबार विहान ४ बजेसम्म लिबाङमा ल्याइएको थियो ।

जिल्लाका सबैभन्दा टाढा करिब २८ कोसमा रहेका मतदान केन्द्रबाट मतपेटिका ल्याउन समय लागेको हो । निर्वाचन सुरक्षामा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, निर्वाचन प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीसहितको सुरक्षामा मतपेटिका लिबाङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको हो ।

निर्वाचनमा १० दलका उम्मेदवार चुनावी मैदानमा थिए । अब मतगणना हुन मात्रै बाँकी छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रोल्पामा ८६ वटा मतदानस्थल र १ सय ८० मतदान केन्द्र तय गरिएको थिए ।

त्यसबाहेक सदरमुकाम लिबाङमा रहेको कारागार र कर्मचारीहरूका लागि थप दुईवटा मतदान केन्द्र तय गरिएका थिए । जिल्लामा १ लाख ४९ हजार ५ सय ९७ मतदाता रहेकामा महिलाको ३९ हजार ११० र पुरुष मतदाता ३० हजार २८९ ले मतदान गरेका थिए । सबै मतदाता ६९ हजार ४०८ मत अर्थात ४६.३९ प्रतिशत मत खसेको थियो । 

जिल्लामा शान्तिपूर्वक निर्वाचन सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत विनोद खतिवडाले बताए । उनका अनुसार निर्वाचनपछि मतगणना थाल्ने तयारी भएको छ । मतगणनाका लागि जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयमै मतगणना गर्ने सम्पूर्ण तयारी गरिएको हो । गणनास्थलको सुरक्षाका लागि तारजाली लगाइएको छ भने सीसी क्यामेराको जडान पनि गरिएको उनले बताए । 

रोल्पामा भयरहित, निष्पक्ष एवं धााधलीरहित निर्वाचन सम्पन्न गर्न सबै मतदान केन्द्र र त्यस बाहिरको क्षेत्रमा पर्याप्त सुरक्षाकर्मी खटाइएको थियो । प्रजिअ क्षेत्रीका अनुसार जिल्लाभर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र निर्वाचन प्रहरीलाई खटाइएको थियो । निर्वाचन सुरक्षाको लागि नेपाली सेनाको पूर्वी र पश्चिमी क्षेत्रमा अलगअलग दुईवटा सुरक्षा बेस राखिएको थियो । ती बेसमा सेनाका मेजरको कमान्डमा सेना खटाइएको थियो ।

 निर्वाचन सुरक्षाको लागि नेपाली सेनाको ४ कम्पनीका ८ प्लाटुनलाई जिल्लाभर खटाइएको थियो भने सशस्त्र प्रहरी बलको एउटा बेस क्याम्प, ३ वटा स्ट्राइकिङ फोर्स र ८ वटा मोबाइल टिमलाई खटाइएको थियो ।

नेपाल प्रहरीको भने सबै क्षेत्रमा ३० भन्दा बढी प्रहरी इकाई मार्फत प्रहरी परिचालित थिए । त्यसबाहेक अधिकृतको कमान्डमा थप प्रहरीलाई खटाइएको थियो । निर्वाचन सुरक्षाको लागि रोल्पामा १ हजार २९ नेपाल प्रहरीले र ९६ जना सशस्त्र प्रहरी बलमा निर्वाचन प्रहरी भर्ना गरिएको थियो । 

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully