आफूहरुको माग सुनुवाइ नभएको भन्दै शून्य मतदान गराउने स्थानीयले निर्णय गरेका थिए ।
दाङ — दाङका ३ वटा मतदान केन्द्रमा अहिलेसम्म मतदान भएको छैन ।
बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बबई गाउँ पालिकाकाे वडा नम्बर १ मा ६८६ मतदाता रहेको जिला मतदान केन्द्र, वडा नम्बर ७ मा ५३० मतदाता रहेको मलैखाेला मतदान केन्द्र र दंगीशरण गाउँ पालिकाकाे वडा नम्बर १ मा ७५६ मतदाता रहेको काैवाघारी मतदान केन्द्रमा अहिलेसम्म शून्य मतदान रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र वकरले जानकारी दिए ।
मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मीसहितको टाेली १८ गते नै त्यहाँ पुगेर निर्वाचनकाे तयारी गरेका थिए ।
अहिले बिहान ११:४५ सम्म कुनै पनि मतदाता मतदान गर्न आएका छैनन् । दाङको क्षेत्र नम्बर ३ मा रहेको बाँके राष्ट्रिय निकुञ्जकाे मध्यवर्ती क्षेत्रका बासिन्दाले जंगली जनावरको आतंकका कारण आफूहरुकाे बस्ती स्थानान्तरण गर्नुपर्ने माग गर्दै आएका छन् । गत २०७९ काे निर्वाचनमा पनि मतदान नगर्ने अडान लिएका यहाँका मतदाता नेताहरूकाे आश्वासनपछि मतदानमा सहभागी भएका थिए ।
आफूहरुको माग सुनुवाइ नभएको भन्दै अहिलेकाे निर्वाचनमा शून्य मतदान गराउने सामूहिक निर्णयअनुसार मतदानमा सहभागी नभएकाे बबई गाउँपालिका-७ का वडा सदस्य चन्द्रबहादुर राङुमगरले बताए । मध्यवर्ती क्षेत्रमा पर्ने दंगीशरण गाउँपालिकाकाे वडा नम्बर १ काे दुई मतदान केन्द्र रहेको काैवाघारी क केन्द्रमा मतदान भएको छ भने खमा अहिलेसम्म मतदान शून्य छ ।
मध्यवर्ती क्षेत्र वडा नम्बर १ फुर्केसल्लीका नागरिकको ख मतदान केन्द्रमा मतदाता नामावली रहेको थियोे भने ७५६ मतदाता रहेका छन् ।
दाङका दुई अस्थायी सहित ४८४ मतदान केन्द्रमध्ये ४८१ मतदान केन्द्रमा भने शान्तिपूर्ण वातावरणमा मतदान चलिरहेको छ ।
- अमर क्षितिज भण्डारी, दाङ
