रूपन्देहीमा ६२ प्रतिशत मत खस्यो

जिल्लामा छिटपुट घटनासमेत नभई शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले बताए ।

फाल्गुन २१, २०८२

घनश्याम गौतम

62 percent voter turnout in Rupandehi

बुटवल — रूपन्देहीका पाँच वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । रूपन्देहीमा ७ सय ३३ निर्वाचन केन्द्रमा ६२ प्रतिशत भन्दा बढी मतदान भएको छ । 

जिल्लामा छिटपुट घटनासमेत नभई शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले बताए ।

उनका अनुसार सबै मतदान केन्द्रमा मतदान सम्पन्न भएर मतपेटिका शिल गर्ने कार्य जारी रहेको र बेलुका ७ बजेसम्ममा सबै केन्द्रबाट मतपेटिका मतगणनास्थलसम्म पुर्‍याउने गरी काम भइरहेको उनले बताए । 

मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले ६० प्रतिशत भन्दा बढी मतदान भएको बताए । उनका अनुसार प्रारम्भिक विवरणमा रुपन्देहीको निर्वाचन क्षेत्र नं १ मा ५९ प्रतिशत, २ मा ६० प्रतिशत, ३ मा ६१ प्रशितश, ४ मा ६८ प्रतिशत र ५ मा ६० प्रतिशत भन्दा बढी मत खसेको छ । ‘यो प्रारम्भिक विवरण हो,’ उनले भने, ‘अन्तिम परिणाममा यो अझै बढेर आउन सक्छ ।’ सबैभन्दा बढी निर्वाचन क्षेत्र नं ४ मा सबैभन्दा बढी मत खसेको अनुमान छ । 

रूपन्देहीका पाँच वटा निर्वाचन क्षेत्रमा ६ लाख ७२ हजार ५ सय २३ जना मतदाता थिए । जिल्लाभरका अस्थायीसहित २ सय १३ मतदानस्थल र ७ सय ३६ मतदान केन्द्रबाट मतदान भएको थियो । 

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully