उम्मेदवारमाथि कुनै आक्रमण भएको छैन : प्रहरी
काठमाडौँ — निर्वाचनको मौन अवधिमा निर्वाचन आचारसंहिता विपरीतका गतिविधि गरेको भन्दै रास्वपाको सचिवालय रहेको होटेलमा एमाले कार्यकर्ता पुगेपछि बुटवलको निर्वाचन क्षेत्र नं.२ मा दुई पक्षबीच विवाद भएको छ । बुटवल उपमहानगरपालिका–९ इँटाभट्टी टोलमा रहेको नमोबुद्ध होटलमा राष्ट्रिय स्वतन्त्र पार्टी र एमाले कार्यकर्ताहरुबीच विवाद र धक्कामुक्का भएको हो ।
रास्वपा उम्मेदवार सुलभ खरेलले मौन अवधिमा आचारसंहिता विपरीतका कार्य गरेको भन्दै होटेलमा एमाले कार्यकर्ताहरू प्रवेश गरेपछि केहीबेर धक्कामुक्का भएको प्रहरीले जनाएको छ । एमाले कार्यकर्ताहरूले उम्मेदवार खरेलसहितका रास्वपा कार्यकर्ताहरूले आर्थिक चलखेल गर्दै गरेको आरोप लगाएका छन् ।
रास्वपा उम्मेदवार खरेलले आफूहरू होटेलमा बसिरहेका बेला अज्ञात समूह आएर आफ्नो सचिवालयमा रहेका कार्यकर्तामाथि निर्घात कुटपिट गरेको बताए । रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले होटलमा दुई पक्षबीच सामान्य झगडा भएपनि रास्वपाका उम्मेदवार सुलभ खरेलमाथि कुनै आक्रमण नभएको बताए । ‘एक होटलमा दुई पक्षबीच झगडा भएको जानकारी भएपछि हामीले प्रहरी परिचालन गरेका छौं,’ उनले भने, ‘बाहिर हल्ला भएजस्तो उम्मेदवार माथि कुनै आक्रमण भएको छैन ।’ झगडामा संलग्नहरूको खोजी कार्य जारी रहेको, घटनाको अनुसन्धान पनि भइरहेको र अवस्था नियन्त्रणमै रहेको उनले बताए ।
एमालेले भने रास्वपाले मौन अवधिको समयमा होटेलबाट मतदाता प्रभावित गर्ने कार्य भइरहेकोले आफूहरू निगरानी गर्न पुगेको दाबी गरेका छन् । ‘रास्वपा नेता चित्रबहादुर कार्कीले रातिको समयमा बुटवल वडा नं. ११ देवीनगर एरियामा पैसा बाँड्ने चलखेल गर्दा जनताले पछ्याउँदै गएको र उनी होटलभित्र छिरेपछि झगडा परेको हो,’ एमाले नेता बाबुराम पन्थीले भने, ‘होटेलबाट अवाञ्छित गतिविधि गरेको भेटिएको छ ।’ होटेलभित्रबाट हुने अवाञ्छित गतिविधिको एमालेले प्रतिकार गरेको उनले बताए ।
रास्वपा उम्मेदवार खरेलले भने हेलमेट लगाएर आएका २० जना भन्दा बढीको अज्ञात समूहले होटल भित्रै पसेर सचिवालयका सदस्यहरूलाई कुटपिट गरेको बताए । ‘म सुरक्षित छु, तर साथीहरू कुटिनु भएको छ,’ उनले भने, ‘कुटपिटमा एमाले नेता बाबुराम पन्थीसहितका व्यक्तिहरू संलग्न छन् ।’
