मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले सबै मतदान अधिकृत सहितका कर्मचारीहरू मतदान केन्द्रमा गइरहेको र मतदान गर्ने स्थलहरू तयारीमा रहेको बताए ।
अर्घाखाँची — २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित गराउन सम्पूर्ण तयारीमा रहेको सुरक्षा निकायले बताएका छन् । मतदातालाई ढुक्कसँग मतदान केन्द्रमा पुगेर आफुले इच्छाएको उम्मेदवार र पाटीलाई मतदान गर्न उनीहरूले अपिल गरेका छन् ।
सन्धिखर्कमा रिपोर्टस् क्लबले आयोजना गरेको निर्वाचन विशेष साक्षात्कार कार्यक्रममा मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले सबै मतदान अधिकृत सहितका कर्मचारीहरू मतदान केन्द्रमा गइरहेको र मतदान गर्ने स्थलहरू तयारीमा रहेको बताए ।
उनले मतदान केन्द्र व्यवस्थापन, कर्मचारी परिचालन तथा आवश्यक सामग्री व्यवस्थापन कार्य अन्तिम चरणमा पुगेको बताए। उनले मतदान सकिएपछि मतपेटिका मतगणनास्थलमा आइपुगेपछि गणना सुरू भएको २४ घण्टा भित्रमा नै प्रत्यक्षतर्फ उम्मेदवारको मत परिणाम सार्वजनिक गरिने बताए ।
प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले मतदातालाई घरदेखि मतदान केन्द्रसम्म सबै सुरक्षा व्यवस्था गरिएको बताए । अहिले मतदान केन्द्रमा जाँदा, फर्कदा बाटोघाटो, घरमा कसैले धम्क्याउने, थर्काउने जबर्जस्ती गर्ने जस्ता अस्वभाविक क्रियाकलाप गरेमा तत्कालै सुरक्षा निकायमा खबर गर्न उनले आग्रह गरे ।
निर्वाचनलाई मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गर्न सबै पक्षको सहयोग आवश्यक रहेको सुवेदीले बताए ।
