‘सबै मतदान केन्द्रमा मतदान अधिकृतसहितका कर्मचारी पुगिसकेका छन्,’ जिल्ला निर्वाचन अधिकारी महेश काफ्लेले भने, ‘मतदान केन्द्रमा पुगेर कर्मचारीले सर्वदलीय बैठक बोलाउने, चारकिल्ला तोक्नेलगायतका आवश्यक काम थालिसकेका छन् ।’
पाल्पा — बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदानका लागि खटिएका मतदान अधिकृतहरूले आ-आफ्नो केन्द्रमा सर्वदलीय बैठक बोलाएका छन् । उनीहरूले मतदानस्थल वरपरको चौकिल्ला तोक्नेकाम समेत सकेका छन् ।
मतदान केन्द्रको ३ सय मिटर वरपरका क्षेत्रलाई चौकिल्ला तोकिएको तिनाउ गाउँपालिकास्थित सररस्वती आधारभूत विद्यालय झिंगामारामा खटिएका मतदान अधिकृत मधुसुधन घर्तीले बताए ।
मतदानका लागि आवश्यक सामग्रीसहित सम्बन्धित मतदान केन्द्रमा सोमबार नै पुगेको उनले बताए । सबै मतदान केन्द्रमा मतदान अधिकृतसहित कर्मचारी र सुरक्षाकर्मी पुगिसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा १ सय १८ मतदानस्थल छन् । २ सय ५१ केन्द्र तोकिएको छ । ‘सबै मतदान केन्द्रमा मतदान अधिकृतसहितका कर्मचारी पुगिसकेका छन्,’ जिल्ला निर्वाचन अधिकारी महेश काफ्लेले भने, ‘मतदान केन्द्रमा पुगेर कर्मचारीले सर्वदलीय बैठक बोलाउने, चारकिल्ला तोक्नेलगायतका आवश्यक काम थालिसकेका छन् ।’
मतदानका लागि आवश्यक मतपत्रलगायत ५१ प्रकारका सामग्री लिएर कर्मचारी टोली सुरक्षासहित मतदान केन्द्र पुगेका छन् । जिल्ला सुरक्षा समितिले फागुन १५ गतेदेखि जिल्लाभर मदिरा बेचबिखनमा रोक लगाइसकेको छ ।
‘जिल्लाभरका सबै मतदानस्थलको अवस्था सामान्य रहेको प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्य कुँवरले बताइन् । नेपाल प्रहरी, जनपद प्रहरी, निर्वाचन प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनामार्फत सबै मतदानस्थलसम्म सम्पुर्ण सुरक्षा प्रबन्ध मिलाइएको उनले बताइन् ।
सम्बन्धित केन्द्रमा कर्मचारी पुगेर आवश्यक बन्दोबस्त गरी मतदाता पर्खिरहेको तिनाउ गाउँपालिका–१, कचलस्थित युवा वर्ष माविका मतदान अधिकृत भरत आचार्यले बताए ।
बालमन्दिरका तीन र त्रिभुवन बहुमुखी क्याम्पसका दुई मतदान केन्द्रबाहेक सबै मतदान अधिकृतले सोमबार नै मतपत्रसहित सामग्री बुझेको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्मा उपाध्यायले जानकारी दिए ।
