भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि भारतसँग जोडिएका जिल्लाका सबै सीमा नाका ७२ घण्टाका लागि बन्द गरिएको हो ।
नेपालगन्ज — थामी नसक्नु भिड अनि चहलपहलले व्यस्त हुने नेपालगन्जको रुपैडिहा नाका अहिले सुनासान छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएका बाँकेका सीमा नाकाहरू ७२ घण्टाका लागि बन्द हुँदा अहिले चहलपहल छैन ।
भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि भारतसँग जोडिएका जिल्लाका सबै सीमा नाका ७२ घण्टाका लागि बन्द गरिएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले फागुन १८ गते (सोमबार) राति १२ बजेदेखि फागुन २१ गते (बिहीबार) राति १२ बजेसम्म सीमा नाकाहरू पूर्ण रूपमा बन्द रहने बताए । उनले सो अवधिमा सीमाबाट पैदलयात्री, मालबाहक तथा यात्रुबाहक सवारी साधनको आवतजावतमा रोक लगाइने बताए ।
यसैगरी फागुन २० गते (बुधबार) राति १२ बजेदेखि फागुन २१ गते मतदान कार्य सम्पन्न नभएसम्मका लागि सवारी साधन सञ्चालनमा निषेध गरिएको छ ।
एम्बुलेन्स, दूधका ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शववाहन, अस्पताल तथा विद्युत् सेवा जस्ता अत्यावश्यक सेवा र अनुमति प्राप्त सवारी साधनबाहेक अन्य सवारी सञ्चालन गर्न नपाइने प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिए ।
निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै नेपाल–भारत दुवैतर्फ उल्लेख्य रूपमा सुरक्षाकर्मी परिचालन गरिनेसमेत प्रशासनले जनाएको छ ।
तीन निर्वाचन क्षेत्र रहेको बाकेमा ३ लाख ५० हजार ३ सय ७१ रहेका मतदाता रहेका छन् । यी मध्ये एक लाख ७८ हजार १३९ पुरुष, एक लाख ७२ हजार २२३ महिला र नौ जना अन्य मतदाता रहेका छन् ।
