पर्यटन उद्यमबाटै सयौं युवालाई स्वरोजगार : चौहान

‘अर्घाखाँचीलाई पर्यटकीय हब बनाउन सकिन्छ,’ प्रतिनिधिसभाका लागि नेकपाका उम्मेदवार रामबहादुर चौहानले भने, ‘पाणिनि ऋषि, पतञ्जली ऋषिको जन्मस्थान जिल्लामै भएकाले अर्घाखाँची पुण्यभूमि, ध्यानभूमि, ज्ञानभूमि पनि हो ।'

फाल्गुन १८, २०८२

वीरेन्द्र केसी

Hundreds of youths will be self-employed through tourism enterprises: Chauhan

What you should know

अर्घाखाँची — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार रामबहादुर चौहानले मतदातासँग पर्यटन उद्यमबाटै सयौं युवालाई स्वरोजगार बनाउन सकिने आधार रहेको बताएका छन् । उनले पर्यटनको प्रचूर सम्भावना रहेको अर्घाखाँचीमा धार्मिक पर्यटकीय गन्तव्य सुपादेउराली मन्दिरमा आएका तीर्थालुलाई जिल्लाको खाँचीकोट, बल्कोट, अर्घाकोटलगायत सबै पर्यटकीय स्थानमा पुर्‍याउन सकिने बताए । 

मन्दिरमा दर्शनका लागि आएका पर्यटकलाई सुपादेउराली–नरपानी क्षेत्रमा धार्मिक तथा साहसिक पर्यटकीय संरचना बनाएर त्यहाँ पर्यटकलाई भुलाउन सकेमा र सदरमुकाम सन्धिखर्क लगायतका जिल्लाका अन्य गन्तव्यमा पुर्‍याउन सकिने बताए । 

‘सुपादेउराली दर्शन गरेपछि धेरैजसो तीर्थालु फर्किन्छन्, त्यहाँ एउटा पर्यटकीय भोलुंगे पुल छ, केही त भुलेका छन्, त्यस्तै अन्य थुप्रै संरचना बनाउँछु,’ चौहानले भने, ‘सुपा खेलामा स्नानगृहदेखि आवश्यक संरचना निर्माण गरेपछि पर्यटक भुल्छन्, बास बस्छन् । पर्यटकलाई भुलाउन र बास बसाल्न सक्ने गरी काम गर्छु ।’ 

पर्यटक बसेपछि नरपानी, खाँचीकोट लगायतका अग्ला ठाउँमा रिसोर्ट, होटल र स्थानीयका घरघरमा होमस्टे सञ्चालन हुने उनले बताए । पर्यटकलाई स्थानीय उत्पादनका खाना र खाजाका परिकार खुवाउने एवं त्यसका लागि हरेक कृषकको घरघरमा तरकारी, अन्नबाली, साग सिस्नो, मासुजन्यका लागि कुखुरा, बाख्रा खसीबोका, बंगुर, राँगा लगायतका पशुपालनको फार्म खोल्ने वातावरण बनाउने गरी काम गर्ने चौहानले बताए । 

जसबाट घरैपिच्छेका युवा स्वरोजगार बनाउने, जिल्लाभरका पर्यटकीय स्थलमा पनि रिसोर्ट, घुम्ने ठाउँमा सरकारबाट लगानी गरेर पर्यटकीय संरचना निर्माण गर्न पहल गर्ने उनले बताए ।

‘अर्घाखाँचीलाई पर्यटकीय हब बनाउन सकिन्छ,’ उनले भने, ‘पाणिनि ऋषि, पतञ्जली ऋषिको जन्मस्थान जिल्लामै भएकाले अर्घाखाँची पुण्यभूमि, ध्यानभूमि, ज्ञानभूमि पनि हो । यी ठाउँमा सडक सञ्जाल र संरचना बनाउनुपर्छ ।’ तराईसँग जोडिएको जिल्ला भएकाले लुम्बिनी आएका पर्यटकलाई पनि पहाडमा भित्र्याउन सकिने उनले बताए । 

‘सालझण्डी–सन्धिखर्क–ढोरपाटन पर्यटकीय सडक हो । जुन निर्माणाधीन अवस्थामा छ । यसलाई निर्माण सम्पन्न गरेर नियमित गाडी सञ्चालन गर्छु,’ नेकपा केन्द्रीय सदस्यसमेत रहेका उम्मेदवार चौहानले भने, ‘ढोरपाटन सिकार आरक्षणका लागि विदेशी पर्यटक यही बाटो आउजाउ गर्दा अर्घाखाँचीसहित गुल्मी, पाल्पा र बाग्लुङ थप पर्यटकीय क्षेत्र बन्न सक्छ । पर्यटन उद्यमबाट सयौं युवालाई रोजगारीका अवसर सिर्जना गर्ने खालले योजना बनाउँछु र बजेट भित्र्याउँछु ।’ 

प्राकृतिक दृष्टिले धनचौरको सेङलेङ लेक, डिभर्नाको रक गार्डेन, पाणिनि तपोभूमि, खिदिम गुफा, नरसिंहस्थान, लौरी लेकजस्ता थुप्रै ठाउँ सुन्दर भएको र त्यहाँ आवश्यक संरचनासहितका काम गरेर पर्यटकलाई प्रकृतिसँग रमाउने खालले काम गर्ने उनले बताए । संस्कृत व्याकरणको उद्गमस्थल पाणिनि तपोभूमि, जंगबहादुर राणाको जन्मस्थल मथुरा, न्वारन गरेको ठाउँ बल्कोट, मालारानी, गोखुंगाको लेक, बामरुकको नृसिंहस्थान, ठाडाको डमरु दल लगायतका स्थानमा पर्यटक घुम्ने वातावरण गराउने आफुसँग योजना रहेको उनले बताए ।  

‘अर्घाखाँचीलाई पर्यटकीय गन्तव्य बनाउने मसँग रोडम्याप छ, निर्वाचित भएपछि यो काममा पहिलो प्राथमिकता दिन्छु,’ उनले भने, ‘पर्यटक धेरै भित्रिएपछि वैदेशिक रोजगारमा जान लागेका र फर्किएका युवालाई गाउँमै रोकेर कृषि, पशुपालन, मसलाबाली लगायतका फर्मैफर्म, रिसोर्ट लगायतका कामबाट स्वरोजगार बनाउने मेरो लक्ष्य छ ।’

वीरेन्द्र केसी केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।

Link copied successfully