नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवम् यस क्षेत्रबाट चुनावमा उठेका पुष्पकमल दाहाल आफ्नो प्रत्यक्ष उपस्थितिमा हुने चुनावी भेटघाट सकेर फर्किसकेका छन् भने अरु दलका उम्मेदवाहरु घरदैलोमा पुग्ने क्रम जारी छ ।
What you should know
रुकुम पश्चिम —
प्रतिनिधि सभा सदस्यको निर्वाचन मिति फागुन २१ आउन केही दिन मात्रै बाँकी रहदाँ रुकुम पूर्वका राजनीतिक दल तथा यसका उम्मेदवारहरु अन्तिम कसरत गरिरहेका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवम् यस क्षेत्रबाट चुनावमा उठेका पुष्पकमल दाहाल आफ्नो प्रत्यक्ष उपस्थितिमा हुने चुनावी भेटघाट सकेर फर्किसकेका छन् भने अरु दलका उम्मेदवाहरु घरदैलोमा पुग्ने क्रम जारी छ ।
गत फागुन १ देखि ७ गतेसम्म जिल्लाका तीनवटै पालिकाका विभिन्न ठाउँमा पुगेर दाहाल काठमाडौं फर्किए पनि चुनावी प्रचारप्रसार भने आफुहरुले जारी राखेको नेकपाका चुनावी प्रचार प्रसार समिति संयोजक गणेशमान पुनले जानकारी दिए । ‘हाम्रो संयोजक तथा उम्मेदवार जिल्लाका अधिकांश ठाउँहरुमा पुगेर मतदाता भेटघाट गरिसक्नुभएको छ । उहाँलाई अरु निर्वाचन क्षेत्रमा पनि पुग्नुपर्ने भएकाले काठमाडौं फर्किनुभएको छ । तर हामीले हाम्रो पार्टी–संगठनका नेता तथा कार्यकर्ताहरुलाई घरदैलोमा खटाएका छौं ।’ दाहाल आफ्नो मतदाता नामावली रहेको चितवन पुगेर मतदात गरेपछि मात्रै आफ्नो निर्वाचन क्षेत्र फर्किने कार्यक्रम रहेको पनि संयोजक पुनले बताए । निर्वाचन क्षेत्रमै रहेका कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापा, एमालेका उम्मेदवार लिलामणि गौतम, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार सन्दीप पुन लगायतले भने मतदाता भेटघाटलाई जारी राखेका छन् ।
एमालेका गौतमले पुथाउत्तरंगा र भुमे गाउँपालिकाका लगभग सबै गाउँ–टोलमा पुगेर मतदातासँग भेटेर आफू सिस्ने गाउँपालिकाका वडाहरुमा केन्द्रित भएको बताएका छन् ।
कांग्रेसकी उम्मेदवार थापाले सिस्ने र पुथाउत्तरगंगाको चुनावी भेटघाट सकेर पुथाउत्तरगंगाका हुकाम–मैकोट क्षेत्रमा खटिएको बताइन् । यसैगरी प्रलोपाका उम्मेदवार सन्दीप पुनले पनि पुथाउत्तरगंगा र भुमेको चुनावी कार्यक्रम सकेर अहिले जिल्ला सदरमुकाममा केन्द्रित भएको जानकारी दिए ।
विभिन्न पार्टीका तर्फबाट गरेर जम्मा ११ जना उम्मेदवार चुनावी मैदानमा रहेको रुकुम पूर्वमा सबै उम्मेदवारले आफूले जित्ने दाबी गरिरहेका छन् । मतदाता भेटघाट सकेर काठमाडौं पुगे लगत्तै कोही दिनअघि दाहालले एउटा कार्यक्रममा चुनावी प्रचारका क्रममा रुकुम पुगेर फकिएपछि ‘आफूले रुकुम पुगेर रिल्याक्स गरेको’ भनेर बताएपछि जिल्लाका अरु दलका उम्मेदवारले यसको आलोचना गरेका छन् ।
एमालेका उम्मेदवार गौतमले रुकुम पूर्वबासीमा विकासको भोक रहेको र यहाँको जनजीवन निकै कठिन भएको बताउँदै दूर–दराजमा रहेका मतदाता भेट्न र उनीहरुका सुख–दुःखबारे थाहा पाउनु ‘ल्यिाक्स’ गर्नु नभएको भन्दै आफूले भने निकै दुःख बेहोरेको बताए । ‘हामी जनताको घर–आगनमा एकपल्ट पुग्न त यसप्रकारको सास्ती छ भने यहााका सर्वसाधारण जो आफ्नो जीन्दगी नै यही गुजारिरहेका छन् । उनीरुलाई झन् धेरै दुःख छ’ उनले भने ।
कांग्रेसकी उम्मेदवार थापा र प्रलोपाका उम्मेदवार पुनले पनि यस विषयमा समान धारणा व्यक्त गर्दै दाहालको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । रुकुम पूर्व अविकास र अशिक्षाको अन्धकारमा रोमल्लिएको भन्दै कांग्रेसकी थापाले दाहाललाई पर्यटकको शैलीमा आएकाले ‘रिल्याक्स’ लागेको हुनसक्ने भन्दै वास्तविकता त्यसो नभएको बताइन् । प्रलोपाका पुनले फुरुक्क फुर्क्याउने कार्यकर्तालाई कजाएर मिठो–मसिनो खान पाएका र सुगम मानिएका गाउँघरमा जान पाएकाले दाहाललाई ‘रिल्याक्स’ लाग्नु स्वाभाविकै भएको भन्दै आफूहरु दाहाल पुग्न नसकेको विकट गाउँबस्तीमा पुगेको बताए ।
यस विषयमा नेकपाका चुनावी प्रचारप्रसार संयोजक पुनले ‘जनयुद्धको आधारभूमि’ रुकुम पूर्वमा पुगेर आफ्ना पुराना पदचापहरु पछ्याउन र पूर्व सहकर्मी एवम् जनता भेट्न पाएको अर्थमा भनको भनेर अर्थ लगाए । ‘कुरालाई जसरी पनि बुझ्न सकिन्छ । तर यो प्रसंगलाई सकरात्मक तरिकाले बुझिनुपर्छ,’ उनले भने ।
यतिबेला रुकुम पूर्वका सबै दल तथा उम्मेदवाहरुले यतिबला मतदाता रिझाउन अन्तिम कसरत गरिरहेको अवस्था छ । मतदातामाझ पुगेर आफ्ना योजना तथा एजेण्डा सुनाउने अनि मत माग्ने काम गरिरहेको उनीहरु बताउँछन् । संघीयतापछि २०७४ मा साविक रुकुम पूर्वबाट छुट्टिएर बनेको भएर रुकुम पूर्वलाई बतिले ‘कान्छो जिल्ला’ भन्छन्, भने यो लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्लाका हो ।
२०६४ पछि साविकको रुकुम र २०७४ पछिको रुकुम पूर्वमा भएका सबै निर्वाचनमा साविक माओवादीले नै जित्दै आएको छ । यसपल्ट पूर्वप्रधानमन्त्री समेत रहेका नेकपाका संयोजक दाहाल चुनाब लड्न आएपछि यस क्षेत्रको चर्चा चुलिएको छ । दाहाल बाहेकका उम्मेदवारहरुले भने उनी यहााको स्थानीय नभएको भन्दै यहाँका सम्भावना र समस्याबारे जानकार आफूहरुलाई भोट दिन माग गरेका छन् । यस विषयमा दाहालले रुकम पूर्वमा आफू सशस्त्र संघर्षताका आएर धेरैपल्ट बसेको भन्दै यो आफ्नो ‘कर्मभूमि’ भएको बताइरहेका छन् ।
