रूपन्देहीमा निर्वाचनको तयारी अन्तिम चरणमा

रूपन्देहीमा ४ हजार ४ सय भन्दा धेरै कर्मचारी निर्वाचनका लागि खटाइएका छन् । मतदान केन्द्रमा खटिएका सुरक्षाकर्मीबाहेक आवश्यकता अनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सुरक्षा गस्ती गर्नेछ ।

फाल्गुन १६, २०८२

माधव ढुंगाना

Election preparations in final stages in Rupandehi

What you should know

भैरहवा — रूपन्देहीमा आउँदो फागुन २१ मा हुने निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । रूपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले निर्वाचनका लागि आवश्यक पर्ने कर्मचारी, सुरक्षाकर्मी, निर्वाचन सामग्री र मतदानका सामग्री सबै तयारी अवस्थामा रहेको बताए । 

‘निर्वाचन सामग्रीहरू मतदानस्थलमा पुर्‍याइसकिएको छ । अब मतदान सामग्रीमात्र बुझाउने काम बाँकी छ,’ बस्नेतले भने, ‘रूपन्देहीमा निर्वाचन तयारीको अवस्था अन्तिम चरणमा छ ।’ निर्वाचनमा खटिएका कर्मचारीलाई मतदान स्थलमा रहेर काम गर्नका लागि स्थानीयसँग समन्वय भइरहेको छ । 

उनका अनुसार रूपन्देहीमा ४ हजार ४ सय भन्दा धेरै कर्मचारी निर्वाचनका लागि खटाइएका छन् । मतदान केन्द्रमा खटिएका सुरक्षाकर्मीबाहेक आवश्यकता अनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सुरक्षा गस्ती गर्नेछ । रूपन्देहीका लागि थप सुरक्षा बलको जनशक्ति पनि आइसकेको छ । 

मतदाता शिक्षा कार्यक्रम र निर्वाचन आचारसंहिता कार्यान्वयलाई प्रभावकारी बनाइएको दाबी उनले गरे । निर्वाचन आचारसंहिता उल्लंघनको जानकारी आउनासाथ तत्काल यथास्थानमा पुगेर समाधान गर्ने गरिएको उनले जनाए । 

१ सय ५५ जना उम्मेदवार रहेको रूपन्देहीमा ४६ जनाले मात्र बैंक खाता खोलेको रूपन्देहीका निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा कोष लेखा नियन्त्रक विष्णुप्रसाद खनालले जानकारी दिए । 

उनका अनुसार निर्वाचनको प्रयोजनार्थ बैंक खाता खोल्नका लागि रूपन्देहीका १ सय २३ जना उम्मेदवारले निर्वाचन कार्यालयबाट सिफारिस लिएकामा ४६ जनाले मात्रै अहिलेसम्म खोलेको जानकारी प्राप्त भएको हो । ‘निर्वाचनको प्रयोजनार्थ अलग्गै बैंक खाता खोल्न सबै उम्मेदवारलाई पत्राचार र फोनमार्फत जानकारी गराइएको छ र यस बारेमा सचेत पनि बनाइएको छ,’ खनालले भने, ‘अहिलेसम्म वित्तीय अनुशासन उल्लंघन भएको उजुरी रूपन्देहीमा आएको छैन ।’

माधव ढुंगाना ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully