नौमुरे जलविद्युत् आयोजना बनाउनु मेरो पहिलो प्राथमिकता : भुसाल

प्यूठानको सरुमारानी गाउँपालिका–३ र अर्घाखाँचीको शितगंगा नगरपालिका–८ सिमानामा यो आयोजना रहेको छ । पछिल्ला वर्षमा बजेट र जनशक्ति अभावमा काम सुस्त छ ।

फाल्गुन १६, २०८२

वीरेन्द्र केसी

Building the Naumure Hydropower Project is my first priority: Bhusal

What you should know

अर्घाखाँची — एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पीताम्बर भुसालले नौमुरे बहुउद्देश्यीय जलविद्युत् आयोजनालाई आफू निर्वाचित भएपछि सरकार र जनताको सेयर लगानीमा निर्माण कार्यलाई अगाडि बढाउन पहल गर्ने बताएका छन् ।

नौमुरेबाट विद्युत् निकाल्ने मात्रै नभएर तराईका जिल्लाका खेतीयोग्य जमिनमा सिँचाइ र बाँधस्थल नजिकै पर्यटकीय गन्तव्य बनाउन सकिने उनले बताए ।

‘धेरै वर्षदेखि राजनीतिक पहुँच नपुग्दा बजेट विनियोजन न्यून भएको छ,’ उनले इकान्तिपुरसँग भने, ‘विद्युत् उत्पादन, बाँधस्थल नजिकै लामातालमा ताल बनाएर पर्यटकीय स्थल र तराईका खेतमा सिँचाइ पुग्दा खाद्य उत्पादन वृद्धि हुन्छ । मेरो पहिलो प्राथमिकता नौमुरेमा बजेट थपेर छिटो काम अगाडि बढाउनेमा हुन्छ ।’ यसका लागि संसद्, सरकार, प्रधानमन्त्री, ऊर्जामन्त्रीसँग छलफल गरेर काम अगाडि बढाउने उनले प्रतिबद्धता जनाए । 

प्यूठानको सरुमारानी गाउँपालिका–३ र अर्घाखाँचीको शितगंगा नगरपालिका–८ सिमानामा यो आयोजना पर्छ । पछिल्ला वर्षमा बजेट र जनशक्ति अभावमा काम सुस्त छ । यो आर्थिक वर्ष ११ करोड रुपैयाँ मात्रै बजेट परेकाे छ । 

प्यूठानको सरुमारानीमा विद्युत् गृह निर्माण गर्ने, अर्घाखाँचीको लामातालमा बाँध बनाएर ८८ मेगावाटसहित २ सय ८१ दशमलव ३४ मेगावाट क्षमताको बिजुली निकाल्न सकिने पछिल्लो प्रतिवेदनमा उल्लेख छ । विद्युतसँगै कपिलवस्तु, दाङ र बाँके जिल्लामा रहेका खेतीयोग्य जमिनमा सिँचाइ पुर्‍याएर खाद्य, तरकारी उत्पादन बढाउने आयोजनाको लक्ष्य छ । विद्युत् उत्पादनपछिको नौमुरेको पानीले कपिलवस्तुमा २९ हजार ७ सय ३६ हेक्टर, बाँकेमा ४२ हजार ७ सय ६६ र दाङको देउखुरीमा १० हजार ८ सय हेक्टरमा सिँचाइ पुग्ने लक्ष्य राखिएको छ । पञ्चायतकालदेखि अहिलेसम्म आयोजना अधुरै रहेको छ ।

वीरेन्द्र केसी केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।

Link copied successfully