सामाजिक सद्भाव कायम गर्न प्रशासनको आग्रह

प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले सामाजिक सद्भाव बिग्रिन नदिन मदिराको बिक्री वितरणमा प्रतिबन्धलाई कडाइका साथ कार्यान्वयन, सीमा निगरानी तथा सावधानी, सुरक्षा चेकजाँच प्रक्रियालाई व्यापकता लगायतका आन्तरिक सुरक्षा योजना लागू गरिएको बताए ।

फाल्गुन १६, २०८२

माधव ढुंगाना

Administration urges to maintain social harmony

भैरहवा — फागुन २१ मा हुने निर्वाचनलाई प्रभावित हुन नदिन रुपन्देहीमा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता बिथोलिने खालका गतिविधिमाथि प्रशासनले सजगता अपनाउने जनाएको छ । 

निर्वाचनअघिको मौन अवधिमा परेका हिन्दु धर्मावलम्बीको होली र मुस्लिम धर्मावलम्बीको रमजान पर्व मनाउने क्रममा आपसी सामाजिक सद्भाव र धार्मिक सहिष्णुतामाथि आँच आउन सक्ने खालका गतिविधिमाथि प्रशासनले सूक्ष्म ढंगले निगरानी राख्ने जनाएको हो । 

सामाजिक सद्भाव र धार्मिक सहिष्णुतालाई कायम राख्ने र निर्वाचनलाई खतरा हुन सक्ने खालका गतिविधिलाई निस्तेज पार्ने विषयमा केन्द्रित रहेर रुपन्देही प्रशासनले भैरहवामा सर्वपक्षीय बैठकको आयोजना गरी सबै सरोकारवाला निकायसँग राय सुझाव लिँदै छलफल गरेको छ । 

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले दुवै धार्मिक चाडपर्व निर्वाचनको मौन अवधिमा रहेकाले निर्वाचन बिथोल्न चाहने तत्त्वले धार्मिक सहिष्णुता खल्बल्याउन सक्ने सम्भावनाप्रति सजगता अपनाइएको बताए । 

सर्वपक्षीय बैठकमा लुम्बिनी सांस्कृतिक नगरपालिकाकी निमित्त प्रमुख कल्पना हरिजनले निर्वाचनको मुखमा केही अराजक तत्त्वले विवाद सिर्जना गराइ आपसी सद्भाव भड्काउन खोजेको जनाउँदै त्यसमा विशेष सजगता अपनाउन आग्रह गरेकी थिइन् । 

प्रमुख जिल्ला अधिकारी पोखरेलले सामाजिक सद्भाव बिग्रिन नदिन मदिराको बिक्री वितरणमा प्रतिबन्धलाई कडाइका साथ कार्यान्वयन, सीमा निगरानी तथा सावधानी, सुरक्षा चेकजाँच प्रक्रियालाई व्यापकता लगायतका आन्तरिक सुरक्षा योजना लागू गरिएको बताए । 

‘लुम्बिनी क्षेत्रको अवस्थाप्रति प्रशासनले हरेक गतिविधिलाई सूक्ष्म ढंगले हेरेरे सुरक्षा योजना बनाएको छ,’ उनले भने, ‘शान्तिपूर्ण निर्वाचन, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्नका लागि आवश्यकताअनुरुप प्रशासनले कठोर कदम चाल्न पछि हट्दैन ।’ 

माधव ढुंगाना ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully