प्रहरीका अनुसार दुर्घटनाग्रस्त टिप्पर सडकदेखि करिब २०० मिटर तल खसेको छ।
पाल्पा — सर्वोत्तम सिमेन्टको खानीबाट फ्याक्ट्रीतर्फ जाँदै गरेको टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
जिल्लाको रैनादेवी छहरा गाउँपालिका–१ स्थित सिद्देश्वरमा रहेको चुनढुंगा खानीबाट ढुंगा लोड गरी फ्याक्ट्रीतर्फ जाँदै गरेको लु २ ख २००१ नम्बरको टिप्पर गाउँपालिका–२ सोमादीस्थित बसेल गैरामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका चालक ३४ वर्षीय खिमबहादुर सोमई मगरलाई तत्काल उद्धार गरी लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको थियो। उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए।
प्रहरीका अनुसार दुर्घटनाग्रस्त टिप्पर सडकदेखि करिब २०० मिटर तल खसेको छ। घटनाको थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी सर्देवाबाट खटिएको टोलीले गरिरहेको जनाएको छ।
