पाल्पा-१ का कांग्रेस उम्मेदवार सन्दीप रानाले गरे प्रतिज्ञापत्र सार्वजनिक

वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई सिकेको सीप र अनुभवको आधामार स्वदेशमै रोजगार र स्वरोजगारको वातावरण मिलाउने उनले बताए

फाल्गुन १४, २०८२

माधव अर्याल

Palpa-1 Congress candidate Sandeep Rana makes his affidavit public

What you should know

पाल्पा — पाल्पा क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार सन्दीप रानाले अहिले मुलुक नयाँ मोडमा उभिएको र परिवर्तनको संवाहक जेन–जी पुस्ता भएको समेत बताए । 

कांग्रेस पाल्पा क्षेत्र नम्बर १ का साथै उम्मेदवारको प्रतिज्ञापत्र सार्वजनिक गर्दै उनले भने, ‘अहिलेको पुस्ताले उठान गरेको शासन प्रणाली, पारदर्शिता र उत्तरदायित्व, रोजगारी र विकासमुखी शासन स्थापना गर्नु पहिलो प्राथमिकता हो ।’ उनले समावेशी लोकतन्त्रलाई थप बलियो बनाउँदै अनुभव र उर्जाको समन्वयमार्फत् जनआजावलाई शिरोधार्य गर्नुपर्ने बताए । 

कांग्रेस लुम्बिनी प्रदेश सदस्यसमेत रहेका रानाले सांसदसँग नागरिकको सिधा संवादका लागि प्रत्येक पालिकामा नागरिक सांसद संवाद केन्द्र स्थापना हुने बताए । आफ्नो प्रतिज्ञामा सबै विकास निर्माणलाई डिजिटल प्रविधिसँग जोड्ने नीति लिने बताउँदै उनले भने, ‘कांग्रेसले मुलुक समृद्धिका लागि ल्याएको घोषणपत्र कार्यान्वयन गर्न रचनात्मक भूमिका निर्वाह गर्दै  संसद्‍मा नीति निर्माणदेखि कानुन निर्माणसम्म महत्त्वपूर्ण भूमिका खेल्नेछु ।’

उनले कार्यान्वयन नभएको खण्डमा दबाब सिर्जना गर्ने प्रतिबद्धता जनाए । मुख्य जिम्मेवारी नीति निर्माण गर्नु भएको बताउँदै रोजगारी र विकासमुखी शासनमा जोड दिने उनले बताए । उम्मेदवार रानाले नीति निर्माण सुदृढ भए देश आफैं सही दिशामा अगाडि बढ्छ भन्ने विश्वास रहेकोसमेत बताए । 

उनले मुलुकको समृद्धिको बाधक भ्रष्टाचारतन्त्र भएको बताउँदै आफ्नो प्रतिज्ञामा नीतिगत र कार्यगत भ्रष्टाचार अन्त्य गरी पारदर्शी प्रशासन संयन्त्र निर्माण गर्नमा जोड दिने उनले बताए । ‘सुशासन मेरो पहिलो सर्त हुनेछ,’ उनले भने, ‘अर्कोतर्फ देशका युवाहरुलाई स्वदेशमै रोजगार र स्वरोजगारको व्यवस्था हुने नीति लिनेछु ।’ उनले युवा स्टार्टअप जस्ता अभियानका लागि परियोजनाको आधारमा १५ लाखसम्मको बिनाधितो कर्जाका लागि नीति ल्याउन पहल गर्नेसमेत बताए । 

वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई सिकेको सीप र अनुभवको आधामार स्वदेशमै रोजगार र स्वरोजगारको वातावरण मिलाउने उनले बताए । कृषिमा निर्भर रहेको समाजलाई आफू र आफ्नो परिवारलाई पुग्ने अन्न आफैं उत्पादन गर्ने अभियान ल्याउने प्रतिज्ञामा उल्लेख भएको बताउँदै उनले भने, ‘रैथाने बाली संरक्षरण र स्थानीय उत्पादनलाई बढवा दिने नीतिका लागि पहल गर्नेछु ।’  उनले पाल्पा क्षेत्र १ का ३७ वटै वडामा माटो परीक्षण गरी माटो सुहाँउदो एक वडा एक कृषि बाली उत्पादनको अभियान ल्याउने बताए । 

स्थानीय कृषि उत्पादनलाई राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गरी निर्यात गर्ने नीतिको व्यवस्था गर्ने उनले बताए । उम्मेदवार रानाले ऐतिहासिक धार्मिक र सांस्कृतिक महत्त्वलाई ध्यानमा राखेर पाल्पाको क्षेत्र नं. १ लाई पर्यटनका तीन क्षेत्रमा वर्गीकृत गरेको बताए । वैदिकग्रन्थ एवं पुराणहरूमा उल्लेख भएको कालीगण्डकी उपत्यका क्षेत्रलाई वैदिक स्मार्टसिटी बनाइ धार्मिक पर्यटन गन्तव्य बनाउने, दर्छा, सिलुवा, पिलुवा, सहलकोट, सुकेकोट, वीरकोट, मोहरीया वाकुमगढी, माथागढी जस्ता क्षेत्रलाई ऐतिहासिक गौरव पर्यटन क्षेत्रको रूपमा विकास गर्नेरानाले बताए । 

रामपुरफाँट सिँचाइको नहर पुनर्निर्माण, हुँगी अर्सेदीको आँधीखोला जलविद्युत् आयोजनाको सिँचाइलाई स्तरोन्नति, गल्धाफाँट सिँचाइ योजना, झडेवा, माथागढी फाँट (मटेरी) योजना, निस्दी धिर्जे, मुढावास, ताकातुङ्ग, खोकखोला, अगाहाखोल, निकिचौर, रामपुर वडा नं १० को कुमालगाउँ, डमराफाँट, भलायटार सिँचाइ योजनाका कामलाई अगाडि बढाउने उनले बताए ।

उज्यालो पाल्पा अभियानलाई प्राथमिकतामा राख्ने र निर्वाचन क्षेत्र नं. १ का विद्युतीकरण हुन बाँकी सम्पूर्ण टोल र बस्तीहरूमा आगामी ५ वर्षभित्र अनिवार्य रूपमा केन्द्रीय प्रसारण लाइनमार्फत विद्युतीकरण सम्पन्न गर्ने उनले प्रतिज्ञा लिएका छन् ।

क्षेत्र नम्बर १ मा २०५१ सालदेखि नेकपा एमालेका उम्मेदवार विजयी हुँदै आएका छन् । २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका उम्मेदवार नारायणप्रसाद आचार्यले ३१ हजार १०३ मत प्राप्त गर्दै फराकिलो मतान्तरसहित विजयी भएका थिए । उनका निकटतम प्रतिस्प्रर्धी कांग्रेसका ज्ञानबहादुर गाहाले २० हजार २५६ मत प्राप्त गरेका थिए । 

यस पटकको निर्वाचनमा एमालेले आचार्यलाई नै दोहोर्‍याएको छ । यस क्षेत्रमा एमालेले २०५१ सालदेखि आफ्नो विरासत कायम राख्दै आएको छ । २०५१ मा दलबहादुर राना, २०५६ मा भद्र बहादुर थापा, २०६४ सालको संविधानसभा निर्वाचनमा दलबहादुर राना पुनः विजयी भए ।

यही क्षेत्रमा २०४८ सालमा कांग्रेसबाट कालुराम रानामगर निर्वाचित भएका थिए । त्यसबेला रानासंगै दलबहादुर प्रतिस्पर्धी थिए । त्यसपछिको २०७० सालको संविधानसभा निर्वाचनमा एमालेकै राधाकृष्ण कँडेल यस क्षेत्रबाट चुनिए । २०७४ सालको निर्वाचनमा एमालेबाटै पुनः राना विजयी भएको क्षेत्र हो ।

यस पटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार भएका विमल पन्त छन् । नेपाली कम्युनिस्ट पार्टीबाट मगर मुक्ति मोर्चाको केन्द्रीय सदस्य रहेका हुमबहादुर सुनारीसहित अन्य दलबाट पनि उम्मेदवार छन् । राप्रपाबाट बृहस्पति अर्याल, राष्ट्रिय जनमोर्चाबाट नरमती सिंजाली, नेसनल रिपब्लिक नेपालबाट थमन सिं रेश्मी मगर, मंगोल नेसनल अर्गनाइजेसनबाट सलन चिदी मगर, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट पुरन गैह्रे शर्मा उमेदवार छन् ।

स्वतन्त्र रुपमा कोशल अर्याल, डिल्लीराज काफ्ले, बुद्धबहादुर विरकट्टा र बाछा दली मिया मनोनयन दर्ता गरेर चुनावी मैदानमा छन् । यस पटकको निर्वाचनमा क्षेत्र नम्बर १ मा ९८ हजार ३८३ मतदाता छन् । यही क्षेत्रमा ५२ मतदान स्थल छन् । १ सय १७ मतदान केन्द्र रहेको छ ।

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully