पाल्पाका दुई अस्थायी मतदान स्थलमा १ हजार ९ सय २३ मतदाता

दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा २ हजार कर्मचारी र स्वयंसेवक परिचालन हुने ।

फाल्गुन १४, २०८२

माधव अर्याल

1,923 voters in two temporary polling stations in Palpa

What you should know

पाल्पा — आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन कार्यालयले पाल्पामा दुई अस्थायी मतदान केन्द्र थप गरेको छ । दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा यसअघि १ सय १८ मतदानस्थलमा २ सय ५१ मतदान केन्द्र कायम गरिएको थियो । 

त्यसमा दुई मतदानस्थल थप गर्दै १ सय २० मतदानस्थल कायम गरेको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले बताए । दुई अस्थायी मतदान स्थलमा १ हजार ९ सय २३ मतदाता रहेका छन् । तानसेनस्थित जिल्ला कारागारमा कैदीबन्दी साथै अन्य कर्मचारी र सुरक्षाकर्मीका लागि अस्थायी मतदानस्थल तय गरिएको हो । तानसेनस्थित दी फेमस महेन्द्र दल गण र कारागारमा अस्थायी मतदान स्थल तोकिएको छ । दुईवटा अस्थायी मतदान केन्द्रअन्तर्गत ६९ जना कारागारमा र १ हजार ८ सय ५४ जना महिन्द्र दल गणअन्तर्गत मतदानस्थलमा मतदाता रहेका छन् । 

दुई निर्वाचन क्षेत्र रहेको पाल्पाका स्थायी २ सय ५१ र दुई अस्थायी गरी २ सय ५३ मतदान केन्द्रमा निर्वाचन सम्पन्न गर्न २ हजार बढी कर्मचारी खटिने भएका छन् । ती केन्द्रमा १ हजार ५ सय बढी कर्मचारी खटिने छन् भने ५ सय बढी स्वयंसेवक मतदान केन्द्रमा खटिनेछन् । 

क्षेत्र नम्बर १ मा ५२ मतदान स्थलमा रहेका १ सय १७ मतदान केन्द्र छन् । क्षेत्र नम्बर २ मा ६६ मतदानस्थलमा १ सय ३४ मतदान केन्द्र रहेको छ । प्रत्येक केन्द्रमा मतदान अधिकृत एक, सहायक मतदान अधिकृत एक, सहायक कर्मचारी तीन र एक जना सहयोगी खटाउने तयारी रहेको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले बताए । निर्वाचनका कर्मचारीसहित प्रत्येक मतदान केन्दमा ५ सय भन्दा कम मतदाता रहेकामा दुई र ५ सय बढी मतदाता भएको केन्द्रमा तीन जना स्वयंसेवक परिचालन हुनेछन् । स्वयंसेवक मतदान अधिकृतले नियुक्त गर्ने व्यवस्था छ । 

अस्थायी दुई वटा मतदान स्थलमा पनि कर्मचारी खटाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत केशव पराजुलीले बताए । निर्वाचनमा खटाउने कर्मचारी र शिक्षकको विवरण स्थानीय तहबाट प्राप्त भइसकेको छ । मतदान केन्द्रमा खटिनेहरूको विवरणसमेत सार्वजनिक गरिसकेको छ ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully