रोल्पामा जिप दुर्घटना, एक महिलाको मृत्यु

दुर्घटनामा परेर रोल्पाको परिवर्तन-६ की २४ वर्षीया विष्णुमाया बुढा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

फाल्गुन १२, २०८२

काशीराम डाँगी

Jeep accident in Rolpa, one woman dies

रोल्पा — दाङको घोराहीदेखि रोल्पाको परिवर्तन गाउँपालिकाको बागमारातिर आउँदै गरेको जिप रोल्पाको दहबन नजिक दुर्घटनामा परेको छ।

मंगलबार बिहान रुन्टीगढी गाउँपालिका-५ खुम्बास भन्ने स्थानमा जिप दुर्घटना हुँदा एक महिलाको ज्यान गएको प्रहरीले जनाएको छ। करिब १४ जना यात्रुलाई लिएर बिहान दाङबाट हिँडेको लु१ज ४८५४ नम्बरको टाटा सुमो जिप सडकभन्दा तल खसेको हो। प्रहरीले दुर्घटनामा परेर रोल्पाको परिवर्तन-६ की २४ वर्षीया विष्णुमाया बुढा मगरको मृत्यु भएको जनाएको छ ।

दुर्घटनामा घाइते भएका १२ जनालाई उपचारका लागि दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। जिप सजिलो सडकबाट तल खसेको कारणबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

उक्त सडक सहिद मार्गअन्तर्गत पर्छ। दुर्घटना स्थल रोल्पा सदरमुकाम लिबाङदेखि करिब ९० किलोमिटर दक्षिण-पश्चिममा पर्छ। 

काशीराम डाँगी डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully