दाङमा सधैंको चुनावी मुद्दा घोराही–तुलसीपुर चार लेन सडक

यो योजनामा पाँच वर्षमा आठ ठेकेदार परिवर्तन गरेर पाँचपटक म्याद थप्दा पनि प्रगति नभएपछि सरकारले फेरि नेपालकै बजेटबाट मदन भण्डारी राजमार्ग आयोजना अन्तर्गत सडक निर्माण थालेको छ।

फाल्गुन १२, २०८२

दुर्गालाल केसी

Ghorahi-Tulsipur four-lane road, a perennial election issue in Dang

What you should know

दाङ — घोराही–तुलसीपुर चार लेन (फोर लेन) सडक यहाँको पुरानै चुनावी मुद्दा हो । यो योजना २०७९ देखि नै सबै राजनीतिक दलको चुनावी एजेण्डा बन्दै आएको छ । अहिले पनि उम्मेदवारहरुले यही सडकलाई सबैले मुख्य मुद्दा बनाएका छन् ।

२०७९ को निर्वाचनमा माओवादी केन्द्रकी रेखा शर्माले फोर लेन सडकको डिजिटल सामग्री बनाएर प्रचार नै गरेकी थिइन् । अन्य उम्मेदवारले पनि फोर लेन सडक निर्माणलाई प्राथमिकता दिएका थिए । शर्माले एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्दै जीत हात पारिन् ।

त्यसपछि उनी सञ्चार मन्त्री र सरकारको प्रवक्ता भइन् । शर्मा मन्त्री भएपछि पनि सडकको प्रगति नभएपछि उनले निर्वाचनका बेला तयार पारेको फोर लेन सडकको डिजिटल भिडियो सामग्री अहिलेसम्म पनि मतदाताले शेयर गरेर पुरानो वाचा सम्झाउने गरेका छन् । 

नेपाल सरकार र भारतको एक्सपोर्ट इम्पोर्ट (एक्जिम) बैंकको ऋण सहयोगमा २०७५ माघ १४ गतेदेखि सडक निर्माण सुरु भएको थियो । सडक निर्माणको बजेट १ करोड २१ लाख ८२ हजार ३ सय १ अमेरिकन डलर थियो। सुरुमा २०७७ वैसाख २९ सम्म सडक निर्माण गर्नुपर्ने शर्त थियो । सडक निर्माणको म्याद पाँचपटक थप्दा पनि भौतिक प्रगति ९ दशमलव ६९ र आर्थिक प्रगति १४ दशमलव २३  प्रतिशत मात्रै भएको छ ।

सुरुमा तोकिएको समयमा काम सम्पन्न नभएपछि २०७८ जेठ ६ गतेसम्म म्याद थप गरियो । त्यसपछि २०७८ साउन २७ मा सक्ने गरी म्याद थप भयो । त्यसपछि २०७८ पुस १९ सम्म म्याद थप भयो । फेरि २०७९ वैशाख २९ सम्म म्याद थपियो । जति म्याद थप्दा पनि काम नभइरहेको अवस्थामा फेरि २०८० असार ३१ गतेसम्म म्याद थपिएको थियो । यसरी पाँचपटक म्याद थप भए पनि फिल्डमा कुनै पनि काम नभएपछि अन्तमा सरकारले ठेक्का सम्झौता रद्द गरेको थियो ।

पाँच वर्षमा आठ ठेकेदार परिवर्तन गरेर पाँचपटक म्याद थप्दा पनि प्रगति नभएपछि सरकारले फेरि नेपालकै बजेटबाट मदन भण्डारी राजमार्ग आयोजना अन्तर्गत सडक निर्माण थालेको छ । २ अर्ब ५२ करोड ३७ लाख २ हजार ३ सय ६१ रुपैयाँ लागतमा गत असार २४ मा सम्झौता भई साउन ८ बाट काम सुरु भएको हो । सडक २०८५ असार २३ मा सम्पन्न गर्नुपर्ने समयसिमा रहेको डिभिजन सडक कार्यालय दाङका प्रमुख दिपेन्द्रबहादुर विष्टले बताए । अहिले दिवा/बन्दन भगवती जेभी काठमाडौंले निर्माणको जिम्मा लिएको छ । 

हालसम्म ७ प्रतिशत वित्तीय र १० प्रतिशत भौतिक प्रगति भएको सडक डिभिजन कार्यालय दाङका ईञ्जिनियर कृष्ण पाण्डेले बताए । आगामी असारसम्म घोराहीदेखि नारायणपुरसम्म कालोपत्र गर्ने लक्ष्य रहेको उनले बताए। हाल सडक निर्माणसँगै छेउका रुखहरु व्यवस्थापन र विद्युतका पोल सार्ने काम भइरहेको उनले बताए। 

पहिले भारतीय निर्माण कम्पनी नै मुख्य ठेकेदार हुनुपर्ने प्रावधान र भारत सरकारका अन्य प्राविधिक शर्तहरुले सडक निर्माण जटिल बनेको थियो । अहिले नेपालकै बजेटमा नेपाली कम्पनीले नै ठेक्का पाएकाले समयमै काम सम्पन्न हुने आशा पलाएको छ । सडक बन्न थालेपछि नेताहरुबीच आफूले पहल गरेर सडक बन्न सुरु भएको दाबी गर्ने होडबाजी चलिरहेको छ ।

एमाले महासचिव एवं दाङ–२ का उम्मेदवार शंकर पोखरेल आफूले पहल गरेर मदन भण्डारी राजमार्ग अन्तर्गत उक्त सडकका लागि बजेट सुनिश्चित गरेको बताउँछन् । पूर्वसञ्चार मन्त्री एवं नेकपा नेतृ रेखा शर्मा आफ्नो पहलमा पुरानो ठेक्का तोडेर नयाँ निर्माणको वातावरण बनेको बताउँछिन् । कांग्रेस नेता एवं दाङ–३ का उम्मेदवार दिपक गिरी पनि सडक निर्माणका लागि आफूले पहल गरेको दाबी गर्छन् ।

नेताहरुले जे जस्तो दाबी गरे पनि फोरलेन सडक चुनावी मुद्दा मात्रै बन्दै आएको घोराही उपमहानगरपालिका–१५ का विशाल न्यौपानेले बताए । ‘नेताहरुले सधैंभरी सडकलाई चुनावको मुद्दा बनाए तर जनतालाई सन्तुष्टि हुने गरी काम गर्न सकेनन्,’ उनले भने,‘यसपटक पनि निर्वाचन नजिकिँदै गर्दा काम भइरहेको छ । निर्वाचनपछि पनि यसैगरी काम होस् ।’

फोर लेन सडकलाई नेताहरुले भोट बटुल्ने माध्यम बनाउन नहुने तुलसीपुर उपमहानगरपालिका–५ की बिनिता नेपालीले बताइन् । ‘जुन चुनाव आउँदा पनि नेताहरु सडक बनाउँछौं, सडक बनाउन हामीले पहल गरेका छौं भन्छन्,’ उनले भनिन्,‘सात वर्षसम्म सडक बनेन । अब सडक बनोस्, हाम्रा दु:ख अन्त्य होऊन् । सडक भोट माग्ने मुद्दा मात्रै नबनोस् ।’

पहिले सडक निर्माणको ठेक्का भारतको मुम्बईस्थित तथ्य इञ्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालिले लिएको थियो । प्रालिका प्रबन्ध निर्देशक प्रविण ब्रह्मदेव पाण्डे एकपटक मात्रै सडक हेर्न आएका थिए । २०७८ मंसिर ११ गते घोराही आएका पाण्डेले अब आफै उपस्थित भएर काम गर्ने प्रतिबद्धता गरेका थिए तर त्यसपछि उनी देखिएनन् । उनले अन्य पेटी ठेकेदारलाई जिम्मा दिने मात्र काम गरे । ठेकेदार फेर्दैमा समय बित्यो तर काम भएन ।

त्यतिबेला घोराहीको बबई खोलादेखि तुलसीपुरसम्म २८ दशमलव १९ किलोमिटर सडक फोर लेन तथा टू लेन बनाउने योजना थियो । बबईदेखि घोराही बजारसम्म ६.५३ किमी टु लेन, घोराहीदेखि थापाचोक सर्रा ४.०५ किमी फोर लेन, थापा चोकदेखि नारायणपुर ३.५ किमी टु लेन, नारायणपुरदेखि खैरा २.१ किमी फोर लेन, खैरादेखि दुधरास ३.७ किमी टु लेन र दुधरासदेखि तुलसीपुरसम्म ८.३१ किमी फोर लेन निर्माणको योजना थियो । अहिले घोराहीको डिके पम्पदेखि तुलसीपुरको हात्तीखौवासम्म २१ दशमलव ५८ किलोमिटर सडक चारलेन बनाउन थालिएको छ ।

भालुबाङ–बाग्दुला–भीमगिठे, चन्द्रौटा–कृष्णनगर तथा लमही–घोराही–तुलसीपुर फोरलेन सडक आयोजना कार्यालय लमहीले उक्त सडक हेर्ने गरेको थियो । फोरलेन सडक निर्माणका क्रममा सडकको दुवैतिर भत्काएर मुख्य सडकको दुवैतिर खाल्डा पारिएको थियो । जसका कारण यात्रा निकै जोखिमपूर्ण थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार फोर लेन निर्माण सुरु गरेयता यस सडकमा भएका दुर्घटनामा २७ जनाको ज्यान गइसकेको छ । फोर लेन निर्माणका नाममा सडक भत्काउन सुरु गरेदेखि हालसम्म ६० वटा दुर्घटना भएका छन् । दुर्घटनामा ९४ जना घाइते भएका छन् ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully